राप्रपाको आन्दोलनले नयाँ बानेश्वरमा तनाव, केही नेता राजेन्द्र लिङदेन भेट्न हिँडे

लोकपथ
2.4k
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्र अहिले तनावग्रस्त बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र उनीहरूबिच धकेलाधकेल भएको छ । प्रदर्शनकारीले प्रहरीको ब्यारिकेड धकेल्ने प्रयास गरिरहेका छन् ।

उता, प्रहरीको माइकिङ गरेर उनीहरूलाई शान्त रहन भनिरहेको छ । 

महामन्त्री विक्रम पाण्डेसहित का नेताहरू भने बिजुलीबजारमा सम्बोधन गरेर सिंहदरबारबाट पक्राउ परेका अध्यक्ष राजेन्द्र लिङदेन, प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र), बुद्धिमान तामाङलगायतलाई छुटाउने भन्दै काठमाडौं प्रहरी परिसर भद्रकालीतर्फ लागेका छन् । 

अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई सिंहदरबारभित्रैबाट पक्राउ गरिएको थियो । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको थियो । 

सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  त्यसअघि उनीहरू राप्रपा संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । लिङ्देनको नेतृत्वमा राप्रपाका सात सांसदले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयअगाडिको सडकमा प्लेकार्ड प्रदर्शन गरेर निषेधाज्ञाको विरोध गरेका थिए । 

वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारमा प्रदर्शन गरेपछि उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?