बाराका गणपति केसी तस्करी धन्दामा, सिडिओ नै ‘एक्सन’मा उत्रँदा पनि तस्करी यथावत्

लोकपथ
4.1k
Shares

काठमाडौं । बारामा पछिल्लो समय सशस्त्र प्रहरीकै मिलेमतोमा अवैध रूपमा भन्सार छलेर विभिन्न सामग्रीको खुलेआम रूपमा तस्करी भइरहेको पाइएको छ । 

बाराको गोलागञ्ज, कबहिगोठ, सनफुलवा, बलिरामपुर, बेल्दारी, पिपरपाती, बरैनिय, मटिअर्वा, मुसर्हवा र छतवा नाकाबाट व्यापक तस्करी भइरहेको पाइएको हो । 

दुई महिनाअघि मात्रै नम्बर १२ गण बाराको गणको जिम्मेवारी सम्हालेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको प्रत्यक्ष संलग्नतामा तस्करी भइरहेको हो । गणपति केसीको ‘ग्रिन सिग्नल’पछि मटिअर्वाका सशस्त्रका डीएसपी उदय न्यौपाने र पिपरपाती बोर्डरका डीएसपी प्रदिप थापाले निर्धक्क यो काम गरिररहेका छन् । 

सशस्त्र मुख्यालयले गणको जिम्मेवारी सम्हाल्न जानेबेला सबै गणपतिहरुलाई भ्रष्टाचार र तस्करीविरुद्ध शून्य सहनशीलता अपनाउन निर्देशन दिएको भएपनि गणपतिकै आडमा भएको तस्करीलाई सशस्त्र मुख्यालयले ‘जानकारी’ मा लिएको जनाएको छ । 

भारतसँग सीमानाका भएर पछिल्ला दिनमा अवैध रूपमा दैनिक उपभोग्य सामान, कपडादेखि छड सिमेन्ट तस्करी भइरहेको स्रोतले जनाएको छ । सशस्त्र प्रहरीकै मिलोमतोमा भारतबाट अवैध रूपमा गुट्खा, धान, माछा, विभिन्न सर्टिङसुटिङको कपडा र किराना सामग्री नेपाल भित्रिँदै आएको जनाइएको छ । यस्तै कबाडका सामानको पनि तस्करी भइरहेको स्रोतको दाबी छ । 

यस्तै सनफुलवा नाकाबाट पनि तस्करी धन्दा शुरू भएको छ । नेपालतर्फ सनफुलवा नाका पर्छ भने भारततर्फ कोरैया नाका पर्छ । यहाँको बीओपी कबहीगोठमा सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादव प्रमुखको रूपमा कार्यरत छन् । उनको मातहत नै सनफुलवा पनि पर्दछ । उनी तस्करी गराएको काण्डमा केही दिन अघिमात्र बाहिनीमा छानबिनका लागि तानिएर फेरि फिर्ता भएका थिए । उनी अहिले फर्केपछि फेरि तस्करी शुरू भएको हो ।

यहाँबाट तस्करी भएको फूल र माछा चौवरहिया, देवापुर हँुदै पिपरपाती पुग्ने गरेको छ । अहिले यो नाकाबाट सुरेन्द्र साह, अजय यादव, दिनेश यादव र सियाराम कुसवाहाले फूल र माछाको तस्करीको लाइन पाएका छन् । 

बारामा पछिल्लो दुई सातादेखि अवैध रूपमा विभिन्न नाका भएर खुलेआम रूपमा तस्करी भइरहेको प्रहरी तथ्यांकले पनि देखाएको छ । सीमानाकामा हुने अवैध सामान तस्करी नियन्त्रणको पहिलो जिम्मेवारी सशस्त्र प्रहरीको हो । 

प्रहरी तथ्यांकअनुसार गत चैत १९ मा बारा प्रहरीले ३५ लाख ६४ हजारबराबरको जुत्ता, चप्पल, डाइफर, स्टेसनरी सामानसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो । 

बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भन्सार छलेर अवैध रूपमा भित्रिएको ना.७ख २४२१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा विभिन्न सामग्री पक्राउ परेको हो । उनका अनुसार अवैध रूपमा भारतीय सीमानाका भएर अन्य ठाँउमा जाँदै गरेको अवस्थामा प्रहरी चौकी पथलैयाले पक्राउ गरेको हो । त्यसयता बारा प्रहरीले कुनै पनि अवैध रूपमा भित्रिँदै आएको सामग्री पक्राउ नगरेको अवस्था छ । 

अवैध रूपमा भित्रिएको सामग्रीसहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थियोे । त्यसअघि बारा प्रहरीले चैत १७ मा चार लाख ४४ हजारबराबरको केराउ प्रहरीले नियन्त्रणमा लिएको तथ्यांकमा देखिन्छ । प्रहरी तथ्यांकअनुसार बलिरामपुर नाका छलेर राखिएको केराउ प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए । 

उता, बाराको मटिअर्वा नाकाबाट हुने तस्करीलाई लिएर त्यहाँका सिडिओले केही दिनअघि मात्रै दुई जना सिपाहीलाई निलम्बन गर्न आदेश दिएका थिए ।

केही दिनअघि मात्रै बोर्डरमा सानो कार्टुन राख्ने र त्यही कार्टुनमा तस्करी गर्नेले पैसा राखिदिने गरेको भिडियो सार्वजनिक भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?