काठमाडौं । शिक्षक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनका कारण काठमाडौं उपत्यकाको नयाँ बानेश्वर–माइतीघर र आसपास क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न थालेको छ । शिक्षकहरूको बिहान ९ देखि अपराह्न १२ बजेसम्म र राप्रपाको बिहान ११ बजेदेखिको आन्दोलनलाई लिएर ट्राफिक प्रहरीले ‘सवारी आवागमन व्यवस्थित गर्न’ भन्दै सवारी डाइभर्सन पनि गरिरहेको छ । कार्यालय समयमै सवारी आवागमन असहज हुँदै गएकाले वैकल्पिक मार्ग प्रयोग गर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले अन्य दिनको तुलनामा आइतबार केही समय अगाडिदेखि नै त्यस क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको बताए ।
’शिक्षकहरूको आन्दोलन जारी नै छ, राप्रपाले पनि प्रदर्शन गर्ने भनेका कारण केही समय अगाडिबाट त्यो रुटमा सवारी सञ्चालनमा रोक लगाइएको हो,’ उनले भने ।
माइतीघर मण्डला र नयाँबानेश्वरलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका शिक्षकहरूले आजको आन्दोलन बिहान ९ बजेदेखि नै थालेकाले त्यस क्षेत्रमा सवारी आवागमनको असर बिहानैदेखि नै देखिएको हो । शिक्षकहरूले अघिल्ला दिनहरूमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए । यो समाचार लेखिरहँदा शिक्षकहरू माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढिरहेका छन् ।
शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । सरकारसँग निरन्तर वार्ता भए पनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हडताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेका छन् ।
उता, राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाएसँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ ।
प्रदर्शनकारीहरू भद्रकाली, बबरमहल र बालुवाटारमा जम्मा हुन लागेका छन् । राप्रपाले पार्टीको बैठकबाटै निर्णय गरेर आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेको छ ।
काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले निषेधित क्षेत्र तोड्ने भनेर घोषणै गरेको अवस्थामा त्यस क्षेत्रमा आइतबार पर्याप्त सुरक्षा प्रबन्ध मिलाइएको बताए।
’शिक्षकहरू पनि सोही क्षेत्रमा आन्दोलनरत हुनुहुन्छ, पर्याप्त संख्यामा प्रहरीहरू परिचालन हुनेछन्। सम्भावित भिड र अराजक गतिविधि नियन्त्रणका लागि सबै प्रबन्ध मिलाइएको छ,’ उनले भने ।
काठमाडौं प्रहरी परिसरका एसपी अपिलराज बोहराले निषेधित क्षेत्र तोड्ने भनेर घोषणै गरेको अवस्थामा त्यस क्षेत्रमा आइतबार पर्याप्त सुरक्षा प्रबन्ध मिलाइएको बताए।
’शिक्षकहरु पनि सोही क्षेत्रमा आन्दोलनरत हुनुहुन्छ, पर्याप्त संख्यामा प्रहरीहरू परिचालन हुनेछन्। सम्भावित भिड र अराजक गतिविधि नियन्त्रणका लागि सबै प्रबन्ध मिलाइएको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया