काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बिजुलीबजारमा गर्ने शान्तिपूर्ण र प्रतिकात्मक विरोध प्रदर्शनमा सीमित नेताहरू मात्र सहभागी हुने भएका छन् । राजसंस्थाको पुनर्स्थापना र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागसहितको यो प्रदर्शनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित नेताहरू मात्र सहभागी हुने जानकारी दिए ।
प्रदर्शनको पूर्वसन्ध्यामा गृहमन्त्रालयले निषेधित क्षेत्र तोड्न खोजिए कानुनी कारबाही हुने चेतावनी दिएको थियो । तर लिङ्देनले सामाजिक सञ्जालमार्फत यो आन्दोलन सरकारको निरंकुश प्रवृत्तिको विरोधमा सीमित नेताहरूको सहभागितामा हुने सांकेतिक प्रदर्शन हुने उल्लेख गरेका छन् ।
आज बिहान फेसबुकमा उनले लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई बोल्न, हिँड्न र अभिव्यक्ति दिन प्रतिबन्ध लगाउने सरकारको प्रवृत्तिको विरोधमा हाम्रो प्रदर्शन हुनेछ।’
राप्रपाले यसअघि निषेधित क्षेत्र भत्काउने निर्णय गरेको जानकारी दिएको थियो, जसप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएपछि सुरक्षा निकायहरूले तयारी बढाएका छन् । काठमाडौं उपत्यका सुरक्षा समन्वय समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी बलले प्रदर्शनका लागि विशेष सुरक्षा रणनीति तय गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया