काठमाडौं । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत देशभरका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान जारी छ । स्वास्थ्य सेवा विभागका अनुसार, दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य राखिएको छ।
यस अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिका समेटिएका छन् भने एकदेखि पाँच वर्ष उमेर समूहका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइँदैछ। साथै, बालभिटा खुवाउने र बालबालिकामा कुपोषणको परीक्षण गर्ने कार्यसमेत भइरहेको विभागले जानकारी दिएको छ।
कार्यक्रम सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
जुका नियन्त्रण तथा रोकथामको कार्यक्रम पहिलोपटक २०५६ सालमा १३ जिल्लाबाट सुरु गरिएको थियो, जुन २०६७ सालदेखि सबै जिल्लामा विस्तार गरिएको हो। त्यस्तै, बालभिटा वितरण कार्यक्रम २०६४ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ।
सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिक महिनामा बालबालिकालाई निःशुल्क रूपमा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गर्दै आएको छ। यसले बाल स्वास्थ्य सुदृढ गर्न र कुपोषण तथा अन्य बालरोगहरूबाट बचाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया