गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनी विश्वविद्यालय, लुम्बिनी अनुसन्धान केन्द्रले पोखरामा बौद्ध सम्पदा, संस्कृति र साहित्यको अध्ययन अनुसन्धान केन्द्र स्थापनाको लागि आयोजित अन्तरक्रियात्मक गोष्ठीको उद्घाटन गर्दै उनले बुद्ध दर्शनलाई विश्वभर फैलाएर नेपालले लाभ लिन सक्नुपर्ने बताए ।
बुद्ध धर्म यस धर्ममा आस्था राख्नेको मात्र नभई सबैका लागि एउटा दर्शन र सिद्धान्त रहेको उल्लेख गर्दै उनले बुद्ध शिक्षा जीवनको नैतिक मार्गदर्शक भएको उल्लेख गरे । बुद्ध शिक्षाको अनुसरण र परिपालना गर्न जरुरी रहेको भन्दै उनले बुद्धको सन्देशलाई आत्मसाथ गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
बौद्ध दर्शनको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यसहित २० वर्षअघि स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय प्रकाण्ड बौद्ध विद्धान उत्पादन गर्ने महत्त्वपूर्ण केन्द्रको रूपमा रहेको प्रदेश प्रमुख भट्टको भनाइ छ । सानो संरचनाबाट विश्वविद्यालयको स्वरूप देखिने चरणमा आइपुगेकोमा खुसी व्यक्त गर्दै उनले विश्व आकर्षणको केन्द्र भएको लुम्बिनीमा स्थापना भएको विश्वविद्यालयले नेपालमै लुम्बिनी र बुद्धप्रतिको चासोलाई बढाएको उल्लेख गरे ।
बौद्ध दर्शन विश्वका धेरै विश्वविद्यालयमा अध्ययन अध्यापन हुने भए पनि बुद्ध भूमिमा बसेर बौद्ध दर्शन अध्ययन गर्न पाउनु सुखद अवसर रहने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया