काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले समाजवादको भ्रूण नेवार समुदायमा रहेको बताएका छन् शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा, उनीहरूको भाषा, संस्कृति, उत्पादनमा रहेको बताएका हुन् ।
उनले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उल्लेख गरे । उनले नेपालको इतिहासमा आदिवासी जनजातिहरूमध्ये नेवार समुदाय नै अग्रणी भूमिकामा रहेको जिकिर गरे । नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिने बताए ।
अध्यक्ष दाहालले भने, ‘समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा, उनीहरूको भाषा, संस्कृतिमा, उनीहरूको उत्पादन सम्बन्धमा, उनीहरूका गुठी लगायतका विभिन्न खालका संस्था संरचनाहरू जे बनेका छन्, त्यहीँ नेपाली विशेषताको समाजवाद छ । त्यस कारण मैले हाम्रो पार्टीका नेताहरूलाई नेपालको इतिहासमा आदिवासी जनजाति, त्यसमा पनि अग्रणी नेवार समुदाय नै हो । नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै, उनीहरूको भाषा, संस्कृतिबारे जानकारी लिएर मात्रै हामीले नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ । त्यस कारण यो सम्मेलनलाई एउटा विशेष सुरुवात, एउटा पहल, नयाँ बाटोतिर अघि बढ्ने पहलको रूपमा मैले लिएको छु । त्यहाँसम्म हामी आइपुगेका छौँ । ’
अध्यक्ष दाहालले सरकारका गलत काम र क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुःसाहस गरेको भए पनि सफल नहुने जिकिर गरे । उनले नेवार समुदायको सम्मेलनले सरकारका गलत क्रियाकलापहरूको विरुद्ध खबरदारी गर्नुपर्ने र प्रतिगामी षड्यन्त्रका विरुद्ध चुनौती दिनुपर्ने बताएका छन् । उनले आफूले नेवार समुदायको निम्ति धेरै काम गरेको दाबी गरे । नेवार समुदायको संस्कृति, भाषा, इतिहास, आत्मनिर्णय, पहिचान पूरा स्थापित नभएसम्म माओवादी केन्द्रले नेवार समुदायको साथ नछोड्ने जिकिर गरे ।
अध्यक्ष दाहालले यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रका विरुद्ध पुनः एक पटक उत्पीडित वर्ग र जाति, समुदाय अघि बढ्नुपर्ने बताए । त्यसको लागि माओवादीले पुनः एक पटक देशको नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया