काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पुरुषहरू वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौती दुवै भएको बताए ।
उनले महिला उद्यमशीलताका लागि पर्यटन क्षेत्र महत्त्वपूर्ण हुने बताए । महिलाले धैर्यतापूर्वक सोचेर करुणामैत्री भावले काम गर्ने भएकाले पर्यटन क्षेत्रमा महिलाको भूमिका उपयुक्त हुने भन्दै पर्यटन क्षेत्रमा महिला उद्यमशीलताका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल गरेर बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । पर्यटनमा महिला उद्यमशीलता अर्थतन्त्रको पनि आधार बन्नसक्ने उनको भनाइ छ ।
उनले भने, ‘महिला उद्यमशीलताको विषय निकै सम्भावना र चुनौती बोकेको विषय हो । सम्भावनाको क्षेत्रलाई उजागर गर्ने हो भने मानिसहरू विदेश पलायन भइरहेको अवस्था संख्यात्मक दृष्टिकोणबाट पनि पुरुषहरू विदेश पलायन भएको गाउँहरू रित्तो भएको अवस्था छ । रित्तो भएको सन्दर्भमा पनि गाउँमा महिलाहरू हुनुहुन्छ । ७० प्रतिशत महिला हुनुहुन्छ । महिलाहरू देशभित्र हुनुहुन्छ । यो महिला उद्यमशीलता नै महत्त्वपूर्ण यतिखेरका लागि अर्थतन्त्रको आधार हुनसक्छ पर्यटन क्षेत्रमा महत्त्वपूर्ण रणनीति हुनसक्छ । यो विषयलाई छलफलको विषय राख्नुपर्छ । महिला उद्यमशीलता त्यो पनि पर्यटन क्षेत्रमा कसरी सम्भावना छ र चुनौतीका कुराहरू हामीले प्रत्येक छलफलमा एउटा खण्डा यो राख्यो भने समस्या उजागर हुन्छ र समाधान पनि निस्किन्छ । हामीलाई रोडम्याप पनि क्लियर हुन्छ । नीतिमा कानुनमा बजेट र योजनामा के गर्ने भन्ने कुरामा म गर्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्छु ।’
मन्त्री पाण्डेले पर्यटन व्यवसायमा डिजिटल युगको अधिकतम उपयोग गर्नुपर्ने बताए । उनले सरकार र निजी क्षेत्रबिच विश्वासको संकट उत्पन्न भएको बताउँदै विश्वासको कमी हुँदा समस्या उत्पन्न हुने भएकाले सरकार र निजी क्षेत्रले एक आपसमा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘पर्यटनमा महिला भन्न विषय चाहिँ राम्रो गरी प्रस्तुत भयो । तर यसमा डिजिटल युग र यसको उपयोग गर्ने सन्दर्भमा कम छलफल भयो जस्तो लाग्यो । किन की यो डिजिटल युगल हामीलाई धेरै सहज बनाएको छ । होटलहरु बुक अनलाइनबाट हुने गर्छन् । होटेलको सुविधा पनि हेर्छ, खर्च पनि हेर्छ । एकै बिन्दुबाट सेवा लिने र दिने इगभर्नेन्सको पनि हामीले कुरा गरी रहेका छौँ । यो सन्दर्भमा पनि हामीले डिजिटल युगलाई अधिकतम उपयोग गर्नुपर्छ । मेरो यो बिचको अनुभव चाहिँ निजामती प्रशासन र निजी क्षेत्रमा राम्रो विश्वासको वातावरण भयो भने अगाडि बढ्न सकिन्छ । अहिले त्यो विश्वासको वातावरण छैन । सरकार भनेको जनप्रतिनिधि प्रशासनसँग फसाइ दिन्छ कि भनेर डराउने र निजी क्षेत्र पनि अल्झिने भएपछि विश्वास भत्किएको छ । यो निर्माणमा तत्परताका साथ लाग्नुपर्छ ।’
मन्त्री पाण्डेले पर्वतारोहणको क्षेत्रमा काम गर्नेहरूका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रियामा सरकार रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया