धवलशमशेर राणा रिहा प्रक्रिया सुरु, पत्नी प्रहरीको सम्पर्कमा

लोकपथ
3.4k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणालाई रिहा गर्ने प्रक्रिया सुरु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालयले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो ।

शुक्रबार नै रिहा हुने भनिए पनि आवश्यक प्रक्रिया ढिलो भएकाले रिहा सम्भव नभएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले राणाकी पत्नी प्रतिमा राणालाई शनिवार बिहान साढे ८ बजे प्रहरी परिसरमा उपस्थित हुन बोलाएको छ।

राप्रपा महामन्त्री राणा क्यान्सरका बिरामी हुन् । उनी करिब तीन महिना भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गरेर गत पुसमा स्वदेश फर्किएका थिए । उनले स्वास्थ्य उपचारका लागि हिरासत मुक्त गरिदिन आग्रह गर्दै आएका थिए । क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतको भनाइ छ । स्रोतका अनुसार उनको बयान पूरा भइसकेको छ । अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाड्ने तयारी भएको हो । 

क्यान्सरका बिरामी उनलाई उपचार गर्नबाट वञ्चित गर्न खोजिएको भन्दै शुक्रबार मात्रै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको थियो । 

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनमा हिंसा भएसँगै राणा पक्राउ परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?