काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहनबहादुर बस्नेतले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा देशको पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने दाबी गरेका छन् ।
गृहजिल्ला सिन्धुपाल्चोकको तातोपानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका नेता बस्नेतले सो कुरा बताएका हुन् ।
उनले नेपालमा आफ्नो योग्यता र क्षमताका कारण महिलाहरु सर्वोच्च पदमा पुगेको बताउँदै राणामा समेत सो क्षमता रहेको बताए ।
‘त्यो योग्यता र क्षमता महिलाहरुले प्रदर्शन गर्नुभएको छ। उहाँ कांग्रेसको प्रभावशाली केन्द्रीय सदस्य, मन्त्रिपरिषद्मा पनि परराष्ट्रमन्त्रीको हैसियतले, कूटनीतिक हिसाबले नेपालको स्वार्थअनुकूल अभिव्यक्तिले पनि प्रभाव राख्न सक्ने हैसियत राख्ने मान्छे । आगामी दिनको पहिलो महिला प्रधानमन्त्री बन्न सक्नुहुन्छ। त्यो विषयमा पनि हामी शुभकामना व्यक्त गर्न चाहन्छौं मात्र होइन, हामी तपाईँका प्रत्येक कदममा साथ दिन पनि चाहन्छौँ,’ आरजुको बयान गर्दै बस्नेतले भने ।
त्यस्तै उनले नेपाली कांग्रेसले जिल्लामा गरेको विकासका कारण गठबन्धन नै नगरी सिन्धुपाल्चोकमा स्थानीय तहदेखि केन्द्रसम्म निर्वाचन जित्न सक्ने दाबी समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया