सडकदेखि गाउँपालिका भवन उद्घाटनमा प्रधानमन्त्रीको व्यस्तता

लोकपथ
1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार उद्घाटनमा व्यस्त देखिएका छन् ।

चितवनमा विभिन्न समारोह आयोजना गरी प्रधानमन्त्रीको हातबाट उद्घाटनको तयारी गरिएको थियो । सोही अनुसार चितवन पुगेका प्रधानमन्त्री ओलीले सुरुमा इच्छाकामना गाउँपालिकाका प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।

सो भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताएका छन् ।

त्यस्तै आफूहरुले गाउँगाउँमा सिंहदरबार बनाउने सोचका साथ संविधान निर्माण गरिएको बताउँदै सोही संविधान अनुसार प्राप्त गरेको अधिकार र राजनीतिक व्यवस्थाको रक्षा गर्न समेत आग्रह गरे ।

‘हामीले गाउँगाउँमा सिंहदरबार बनाउने सोचका साथ संविधान निर्माणका समयमा स्थानीय सरकारको व्यवस्था गरेका हौँ । तपाईँहरुले अधिकार र कर्तव्यलाई मनन् गरी हामीले प्राप्त गरेको राजनीतिक व्यवस्थाको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुुहुनेछ भन्ने मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भने ।

त्यसलगत्तै प्रधानमन्त्री ओली चितवनकै अर्को उद्घाटन समारोहमा पुगे । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङ–पुल्चोक सडकखण्डमा निर्मित ६ लेनको सडक उद्घाटन समारोहमा सहभागि भएका छन् ।

जहाँ प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भरतपुर उपमहानगरपालिकाकी प्रमुख रेनु दाहाल लगायतको सहभागिता रहेको थियो ।

त्यसो त पछिल्ला दिनहरुमा प्रधानमन्त्री ओलीको विभिन्न परियोजना उद्घाटन र शिलान्यासमा व्यस्तता रहेको भन्दै आलोचना समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?