निजामती सेवा ऐन बनाउने कुरा राजनीतिक विषय होइन : रक्षामन्त्री राई

लोकपथ
406
Shares

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाल धेरै पछि परेको कुरा सबैलाई अनुभूति भएको बताएका छन् । शुक्रबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्  । 

उनले अहिलेसम्म निजामती कर्मचारी सेवा ऐन, विद्यालय शिक्षा ऐन पारित हुन नसक्नुले यो अवस्थालाई चित्रित गरेको उल्लेख गरे ।  उनले विधेयकमा थोरै कुराहरू मिलिसकेको र विमति रहेका बाँकी कुरामा पनि सहमति जुट्ने विश्वास व्यक्त गरे ।  उनले निजामती सेवा ऐन बनाउने कुरा राजनीतिक विषय नभई सबैको साझा विषय भएको बताए । 

रक्षामन्त्री राईले भने,‘विधेयकमा विमति रहेका विषयहरूमा पनि मलाई लाग्छ आउँदो केही दिनभित्र सहमति गरेरै टुंग्याउँछौँ । अन्तिममा हामी सहमतिमा पुग्ने हाम्रो परम्परा छ । निजामती सेवा ऐन बनाउने कुरा साझा विषय हो । राजनीतिक विषय नै नभएको कारणले यो विषयमा त हामी सहमतिमा नै पुग्छौँ । यसमा जोडबल गर्नका लागि मान्यज्युहरु सबै लाग्नुहुनेछ । हाम्रो देश धेरै पछाडि रहेछ भन्नेकुरा हामी सबैलाई अनुभूति भएको छ । आजसम्म हामी निजामती सेवा ऐन लागू गरिसकेका छैनौँ । विद्यालय शिक्षा ऐनको कुरा पनि बाँकी नै छ । सरकार समस्या फुकाउन चाहन्छ । ऐनहरू छिटो बनोस् भन्नेकुरा चाहन्छ ।’ मन्त्री राईले निजामती सेवा ऐन अन्तिम चरणमा पुगेकोमा खुसी व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?