काठमाडौं । चैत १५ को तीनकुने घटनाका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य धवल शमशेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ । उनलाई स्वास्थ्य उपचारका लागि हिरासतबाट छाड्ने तयारी भइरहेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो ।
राप्रपा महामन्त्री राणा क्यान्सरका बिरामी हुन् । उनी करिब तीन महिना भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गरेर गत पुसमा स्वदेश फर्किएका थिए । उनले स्वास्थ्य उपचारका लागि हिरासत मुक्त गरिदिन आग्रह गर्दै आएका थिए । क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतको भनाइ छ । स्रोतका अनुसार उनको बयान पूरा भइसकेको छ । अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाड्ने तयारी भएको हो ।
क्यान्सरका बिरामी उनलाई उपचार गर्नबाट वञ्चित गर्न खोजिएको भन्दै शुक्रबार मात्रै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया