काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् ।
प्रचण्डका सरकारलक्षित पछिल्ला अभिव्यक्तिमाथि टिप्पणी गर्दै कांग्रेस–माओवादी, कांग्रेस एमाले र एमाले माओवादी गठनबन्धनका घटनाक्रमबारे स्मरण समेत गराए ।
त्यसो त प्रचण्डले कहिले आगामी ०८४ सालसम्म सरकारमा नजाने बताउँने र कहिले कांग्रेसलाई सरकार बनाउन साथ दिने लगायतका अभिव्यक्ति दिइरहेका छन् ।
सो माथि टिप्पाणी गर्दैै सामाजिक सञ्जालमा पूर्वमन्त्री समेत रहेका नेता ज्ञवालीले भनेका छन्, ‘उहाँले एमाले– कांग्रेससहकार्यलाई दुई तिहाईको होइन, ‘षडयन्त्रको सरकार’ भन्न भ्याउनु भएछ । हो नि सर, २०७४ सालमा नेपाली कांग्रेससँग सरकारमा रहँदारहँदै एमालेसँग वाम तालमेल गर्नु पनि एकदमै ‘नैतिक’ थियो, नेकपाको दुई तिहाइको सरकार ढालेर नेपाली कांग्रेसलाई सत्तामा पुर् याउन अदालतमा हालिएको मुद्दा पनि ‘सैद्धान्तिक’ नै थियो, पाँच दलीय गठबन्धनका आधारमा चुनाव लडेर २०७९ पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु पनि एकदमै ‘सङ्गतिपूर्ण‘ थियो र त्यसै अवधिमा तीन–तीन पटक सत्ता– सहयात्री फेर्नु पनि ‘शुद्ध राजनीतिक परिघटना’ थियो । किनभने त्यहाँ ‘पारसमणि’ का रुपमा यहाँ हुनुहुन्थ्यो, सरले छोएपछि त फलाम पनि सुन नै बन्ने भयो नि !’
त्यस्तै उनले प्रचण्डको अभिव्यक्ति र सत्ताप्रतिको आशक्तिबारे टिप्पणी गर्दै दार्शनिक रजनीश ओशोले सुनाउने गरेको कथा समेत स्मरण गराएका छन् ।
प्रचण्डलाई व्यंग्य गर्दैै ज्ञवालीले लेखेको ओशो कथा यस्तो छ :
ओशोले कतै सुनाएको कथा छ, दुई बालब्रह्मचारीहरु बारे । गुरुले ‘हेर है बाबु हो, स्त्रीहरुतिर फर्केर पनि नहेर्नू ’ भनेर सिकाएका रहेछन् । एकदिन कतै जाँदै गर्दा उनीहरूले नदी किनारमा एकजना महिला रोइरहेको भेटेछन् । वर्षातको नदी उर्लिरहेको थियो र उनी नदीपारी घरमा रहेको दुधे बालकको मायाले विह्वल भइरहेकी थिइन् । उनले ती सन्यासीहरुलाई पारी तारिदिन अनुनय विनय गरिन् । पहिलोले त त्यता हेर्दा पनि हेरेन, दोस्रोले चाहिँ ती आमाको पीडा सहन गर्न नसकेर काँधमा बोकेर पारी तारिदियो, अर्कोले त्यसो नगर भन्दाभन्दै पनि ।
पारी तरिसकेपछि पहिलोले दोस्रोलाई आक्षेप लगायो– तैँले गुरु वचन तोडिस्, स्त्रीप्रति आशक्त भइस् । दोस्रोले धेरै पल्ट सम्झाउने कोशिस गर् यो, ‘होइन भाइ, मैले त विशुद्ध मानवीय नाताले पारी तारिदिएको हुँ ।‘ तर पहिलोले पिछा छाडेन । ‘त्यस आइमाईको लुगा भिजेको थियो, तिघ्रा देखिएको थियो, तँ पक्कै बिटुलिएको हुनुपर्छ’ भन्दै गाली गर्न थालेपछि पहिलोले भनेछ– ‘भाइ, मेरो दिमागबाट त ती महिला उहिल्यै हराइसकिन् । तर तँ चाहिँ पक्कै आशक्त रैछस्, किनभने तैँले उनलाई एउटी आमाका रुपमा होइन, भोग्या स्त्रीका रुपमा हेरिस् र अझ पनि त्यही कल्पेर बसिरहेको छस् । तँसँग आजबाट मेरो बाटो फाट्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया