काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले एक सैलुन (कपाल काट्ने स्थान) का लागि एसी र इन्भर्टर जडानका लागि प्रक्रिया अघि बढाएको पाइएको छ ।
हेटौँडा उपमहानगरपालिका–४ शितल महलचोकमा सुसन घलानले सञ्चालनमा ल्याएको सैलुनका लागि उपमहानगरले नै एसी र इन्भर्टरको प्रबन्ध गर्न लागेको हो ।
केही दिनअघि उपमहानगरप्रमुख मिनाकुमारी लामा उक्त सैलुन उद्घाटन गरेकी थिइन् । सो क्रममा उनले सैलुनमा धेरै गर्मी भएको र आफूले एसीका लागि सहयोग गर्ने बचन दिएको सञ्चालक घलानले बताएका छन् ।
नगरप्रमुख लामाको आश्वासन पाएका घलान एसी र इन्भर्टरको माग गर्दै निवेदन पत्र लिएर कार्यालय पुगेका थिए ।
‘हामी द नाइन्टिन सलोन परिवार, तपाईँज्यूले हाम्रो सैलुनको भव्य उद्घाटन समारोहमा उपस्थित भइ दिनुभएको साथ, प्रेम र शुभकामनाको लागि पुनः एकपटक हार्दिक धन्यवादम व्यक्त गर्न चाहन्छौँ । तपाईँको उपस्थितिले हाम्रो युवा टिमला अझ मेहनत र आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा प्रदान गरेको छ,’ निवेदनमा भनिएको छ, ‘उक्त उद्घाटन कार्यक्रममा तपाईँले भन्नुभएको ‘‘सैलुनमा गर्मी धेरै छ, म एसी जडानको लागि सहयोग गर्छु’’ भन्ने कुरा सम्झेर यो औपचारिक निवेदन लिएर उपस्थित भएको छु ।’
त्यस्तै अहिले गर्मी अत्यधिक भएको आरामयादी सेवा दिन अत्यावश्यक रुपमा एक थान एसी र निरन्तर बत्ती गइरहने भएकाले इन्भर्टरको समेत आवश्यक्ता परेको निवेदन पेस गरे ।
सकारात्मक समाचारको प्रतिक्षामा रहेको भन्दै बुधबार घलानले दिएको निवेदनमा प्रमुख लामाले तोक लगाउँदै खर्च अनुमान गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् ।
‘श्री पुरुषोत्तम जी माग भएको सामग्रीको लागत अनुमान तयार गरिदिनु हुन,’ उपमहानगरप्रमुख लामाले तोक लगाउँदै भनेकी छन् ।
व्यवसायीक प्रयोजनका लागि खोलिएको सैलुनमा एसी जडानका लागि उपमहानगर लागेको भन्दै विरोध समेत भइरहेको छ । कतिपयले भने युवाले गरेको व्यवसायलाई प्रोत्साहन गरेको भन्दै प्रशंसा समेत गरेका छन् । यता उपमहानगरले भने सो विषयमा आधिकारिक रुपमा कुनै धारणा राखेको छैन ।
पत्र हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया