सत्तारुढ दलको संयन्त्र बैठक : पूर्णबहादुर जाँदै गएनन्, गगन थापा मोबाइल अफ गरेर बसे

लोकपथ
3.1k
Shares

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र एमालेका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा नेपाली कांग्रेसका दुई जना पदाधिकारी पूर्णबहादुर खड्का र गगन थापाको अनुपस्थितिले तरंग ल्याइदिएको छ । 

सरकारका कामकारबाही र निर्णय प्रक्रियालाई लिएर कांग्रेसभित्र व्यापक असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेसका यी दुई प्रभावशाली नेताको अनुपस्थितिले तरंग ल्याइदिएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुका बोलाइएको संयन्त्र बैठकमा खड्का र थापा अनुपस्थित रहेपछि यो विषयमा गम्भीर छलफलसमेत भएको स्रोतको भनाइ छ । 

उच्चस्तरीय संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । कांग्रेसबाट उपसभापति खड्का, महामन्त्री थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । खड्का र थापाको अनुपस्थितिपछि बुधबारको बैठक औपचारिकतामा सीमित हुन पुगेको छ ।

बैठकमा उपस्थित गृहमन्त्री एवं संयन्त्र सदस्य रमेश लेखकले उपसभापति खड्का अन्य राजनीतिक विषयले नभएर स्वास्थ्यका कारणले बैठकमा उपस्थित हुन नसकेको बैठकपछि सञ्चारकर्मीलाई बताएका थिए । 

तर, खड्काकेन्द्रित गृहमन्त्री लेखकको भनाइ पूर्णसत्य नभएको समाचार स्रोतको दाबी छ । खड्का पछिल्ला दिनमा ओली नेतृत्वको सरकारको कार्यशैलीसँग सन्तुष्ट नरहेको स्रोतको भनाइ छ । आन्दोलित शिक्षकका माग सम्बोधन गर्न समयमै चासो नदिएको भन्दै उनी सरकारसँग असन्तुष्ट बनेका छन् । 

दुई दिनअघि मात्रै उनले शिक्षक आन्दोलनलाई लिएर आफ्नो आधिकारिक फेसबुकमार्फत ‘मेरो विगतको अनुभवको आधारमा’ भन्दै सरकार प्रमुखलाई अनुरोधसहित सुझावसमेत दिएका थिए । त्यसमा उनले शिक्षक महासंघसँग विगतमा भएको सहमतिअनुसार शिक्षकका मागहरू सम्बोधन गरी सडकबाट शिक्षकहरूलाई विद्यालय फर्काउन अब ढिलो नगरौँ, अब यसका लागि सम्माननीय प्रधानमन्त्रीजीले नै तत्काल अग्रसरता लिनुपर्ने भन्दै सुझावसमेत दिएका थिए । उनको सुझाव थियो, ‘कानुनी रूपमा मन्त्रीपरिषद्को निर्णयबाट सम्बोधन गर्न मिल्ने विषयहरूलाई तत्काल निर्णय गरी टुंगो लगाउने र संसदमा छलफलमा रहेको विद्यालय शिक्षा ऐनलाई शिक्षक महासंघसँग विगतमा भएको सहमतिलाई केन्द्रमा राखी बाँकी कुरा सहमतिको आधारमा मिलाएर अब चाडै बस्ने संघीय संसदको बजेट अधिवेशनबाट टुंगो लगाउने गरी सहमति गर्ने !’

उपसभापति खड्काले फेसबुकमार्फत सार्वजनिक गरेको धारणाको केही समयपछि बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नेगरी संसदको अधिवेशन १२ वैशाखदेखि बस्नेगरी आह्वान गर्ने निर्णयसमेत गरेको थियो । साथै आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन आह्वानसमेत गरेको थियो । तर सरकारप्रति शिक्षकहरू विश्वस्त हुन सकेका छैनन् । सरकारको आह्वानपछि पनि शिक्षक महासंघले आन्दोलनका कार्यक्रम जारी राखिराखेको अवस्था छ । 

संयन्त्र सदस्य एवं कांग्रेस महामन्त्री थापा भने पछिल्ला दिनमा सरकारप्रति चर्को सुनिन थालेका छन् । त्यसैले पनि उनी संयन्त्र बैठकमा सहभागी नभएको हुनसक्ने चर्चा चलेको छ । 

पार्टी कार्यक्रमका सिलसिलामा बुधबार बिहान नै बारा पुगेका उनी बालुवाटारमा राति ८ बजे बैठक सुरु हुँदा काठमाडौं फर्किसकेका थिए । बालुवाटार नगई उनी सिधै घर गएका थिए । थापालाई बालुवाटारबाट पटक–पटक सम्पर्क गर्न खोजिएको भएपनि उनी मोबाइल बन्द गरेर बसेका थिए । ‘हामीले गगनजीलाई लामो समय कुर्‍यौँ, उहाँ काठमाडौं आएको जानकारी पनि पायौँ । बैठकमा आउनुहोला भन्ने लागेको थियो तर आउनुभएन,’ एमालेका एक नेताले भने, ‘बैठकमा दुई नेता नभएपछि विषयवस्तुमा लामो छलफल भएन ।’

विशेषगरी पछिल्ला दिनमा राष्ट्र बैंकको गभर्नर नियुक्ति, अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को बढुवा, सडकमा देखिएका शिक्षकलगायत विभिन्न समूहको आन्दोलनलाई लिएर कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामकारबाहीप्रति सार्वजनिक मञ्चबाटै आलोचना गरिरहेको अवस्था छ । संयन्त्र सदस्यसमेत रहेका कांग्रेस महामन्त्री थापाले पनि सरकारको आलोचना गर्न थालेपछि प्रधानमन्त्री ओली र एमाले नेताहरूले यसलाई सामान्यरुपमा लिएका छैनन् ।  

गगन थापा तिनै नेता हुन्, जसले ओली नेतृत्वको सरकारलाई सुरुदेखि नै सघाउँदै आएका थिए । तर पछिल्ला दिनमा उनले समेत आलोचना गरेपछि एमाले नेताहरू सशंकित बन्न थालेका छन् ।

कांग्रेस महामन्त्री थापाले मंगलबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा समेत सरकारको काम गर्ने शैलीको कटु आलोचना गरेका थिए । उनले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरिएको तर सरकारको प्राथमिकता अन्ततिर गएको बताएका थिए । 

‘हामीले के ठानेका थियौँ भने दुई ठूला पार्टी मिलेर सरकार बनिसकेपछि संविधानमा पनि केही कुरा बदलाव ल्याउन तत्काल प्रारम्भ गर्छौँ । खासगरी सुशासनमा व्यापक सुधार गर्छौँ । म सरकारमा बसेर भूमिका लिन्नँ तर यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने सन्दर्भमा व्यक्तिगत रूपमा काम गर्छु, व्यक्तिगत रूपमा जोखिम उठाउन, गाली खान तयार छु किनभने अब काम गर्नुपर्छ, परिणाम दिनुपर्छ, जिम्मा पनि लिनुपर्छ भनेर गएको हुँ । तर त्यसअनुसार सरकार चल्न सकेन,’ उनले भनेका थिए ।  उनले देशलाई ‘कंकर्ड’ (तीव्र गतिको जहाज) को जस्तो गति चाहिएका बेला सरकारको काम भने ‘ट्याक्टर’को गतिमा रहेको टिप्पणी गरे ।

यस्तै एउटा कार्यक्रममा उनले मन्त्रिपरिषद् बैठक बस्न लागेको सूचना र त्यसले गर्ने निर्णयले आफूलाई तनाव हुने गरेको पनि बताएका थिए । महामन्त्री थापाको यो भनाइ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णयप्रति लक्षित रहेको बुझ्न गाह्रो छैन । घिसिङलाई हटाउन हुन्न भनेर आफूहरूले प्रधानमन्त्री ओलीलाई सुझाव दिँदा पनि अटेर गरेको उनले सार्वजनिक कार्यक्रममै बताइसकेका छन् । 

महामन्त्री थापाले सरकारको आलोचना गरिरहेको विषय प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवासँग मंगलबार बालुवाटारमा पनि उठाएका थिए । राजनीतिक संयन्त्रमा रहेका नेताहरूबाट सरकारको सार्वजनिक रूपमा गम्भीर आलोचना हुनु उचित नभएको ओलीको भनाइ थियो । ‘केही समस्या छन् भने संयन्त्रमा बसेर समाधान गर्न सकिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै बालुवाटारका एक अधिकारीले भने । त्यसपछि कांग्रेस सभापति देउवाले सरकारका समस्यालाई राजनीतिक संयन्त्रमा बसेर छलफल गर्न सुझाएका थिए । तर थापा संयन्त्रको बैठकमै गएनन् । 

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा उपस्थित थिए । एमालेबाट भने प्रधानमन्त्री ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?