गभर्नर नियुक्तिमा दलहरुको भन्दा बिचौलियाको तानातान देखियो : प्रचण्ड

लोकपथ
133
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिका लागि बिचौलियाको बिचमा तानातान रहेको आरोप लगाएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले गभर्नर नियुक्तिका लागि सरकारमा सम्मिलित दलहरुबिच कुरा नमिलेको जस्तो देखिए पनि बिचौलियाहरुको बिचमा कुरा नमिलेको आरोप लगाए ।

बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले बिचौलियाहरुले शक्ति केन्द्रलाई प्रभावमा पारिरहेका कारण नियुक्ति प्रक्रिया अघि नबढेको आरोप लगाए ।

‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा तानातान छ । तपाईंहरुलाई लाग्छ होला पार्टीहरुको बीचमा भागबन्डा मिलेको छैन । तर, कुरा नमिलेको बिचौलियाको बीचमा हो’, सरकारप्रति कटाक्ष गर्दै उनले भने, ‘यो समूहको हुने कि त्यो समूहको हुने भन्ने टुंगिएको छैन । उनीहरुले कहिले कांग्रेसलाई कहिले एमालेलाई पक्डेका छन् । त्यसैले ढिलो भइराखेको छ ।’
त्यस्तै प्रचण्डले विपक्षीमा रहेका आफू लगायतका दलहरुले मात्र नभइ सरकारमा संलग्न रहेको दल नेपाली कांग्रेसका महामन्त्रीहरुले नै गभर्नर नियुक्तिमा बिचौलियाहरुको बिगबिगी रहेको खुलासा गरेको बताए ।

केही दिन अघि कांग्रेस महामन्त्री गगन थापाले गभर्नर नियुक्तिमा प्रधानमन्त्रीको बेड रुमसम्मै बिचौलियाहरुको पहुँच रहेको बताएका थिए । सोही विषयलाई उल्लेख गर्दै प्रचण्डले आफूले भनेको मात्र नभइ सरकारमा सम्मिलित दलका शीर्ष नेताहरुले नै सो कुरा बताउन थालेपछि सो कुरा सत्य सावित रहेको दाबी गरे ।

‘पहिले त माओवादी र प्रचण्डले भनेको पुर्वाग्रह हो कि भन्ने लाग्थ्यो होला । अहिले त यो कुरा कांग्रेसका महामन्त्रीहरुले नै भन्न थाल्नुभयो ‘, उनले भने, ‘अब त छ्याङ्ग भयो नि ! प्रचण्डले लगाएको यो झुटो होइन रैछ, साँचो रैछ भन्ने ।’

साथै मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखिएको शिथिलतालाई लयमा ल्याउन भूमिका खेल्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?