तीनकुनेको घटना सरकारले नियोजित रूपमा गराएको हो : सांसद प्रधान

लोकपथ
525
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले तीनकुने भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको कानुन, न्याय, तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद प्रधानले यस्तो बताएका हुन् ।  

उनले तीनकुनेको घटना सरकारले नियोजित रूपमा गराएको आरोप समेत लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघलाई उक्साएर घटना गराएको आरोप लगाए । उनले सरकार आफैँले नियोजित रूपमा घटना घटाएर पार्टीका नेताहरूमाथि झुटो मुद्दा लगाउने काम गरिएको टिप्पणी गरे ।  

उनले भने, ‘तीनकुने घटनामा सबै खालको उत्तेजित गर्ने काम सरकारले गरेको भनेर आक्षेप लाइरहेको अवस्था हो । हामीले त्यही भनिरहेका छौँ । यो सरकारले नियोजित ढंगले गरेको छ । युवा सङ्घहरू जसलाई प्रधानमन्त्रीले भन्नुपर्छ त्यस किसिमको उक्साहट किन लगाइयो ? पार्टी आफ्नो कार्यक्रमहरू गर्न सक्छ तर यहाँ कसैको आस्थालाई कसैले मार्न सक्ने कुरा होइन नि । अब त्यसमा पनि अस्पतालका बिरामी हेर्न गएका सांसद धवल समशेरलाई पक्राउ गरियो, उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गरेर संगठित अपराध, राष्ट्र द्रोहका मुद्दाहरू लगाउने काम गरिँदै छ । यो सबै सुरक्षाकर्मीले गर्दैन । यो सबैले निर्देशित हो ।’ देशमा अशान्ति निम्त्याउनको लागि सरकार लागि परेको समेत उनको आरोप छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?