दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ, झापाबाट सँगै काठमाडौं ल्याइँदै

लोकपथ
1.4k
Shares

काठमाडौं । दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रसाईंसँगै उनलाई भारतको आसामबाट पक्राउ गरिएको हो । खड्कालाई पनि प्रसाईंसँगै काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने भएको छ ।

‘उहाँहरु दुवै जना सँगै फेला पर्नुभएको थियो । दुबै जनालाई काठमाडौं ल्याउने तयारी हुँदैछ,’ प्रहरी स्रोतले भन्यो ।

राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेका प्रसाईंलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएर भद्रपुरबाट पक्राउ गरेको हो ।

नेपाल–भारतबीच सुर्पदुगी सन्धि नभएका कारण प्रसाईंलाई असाम प्रहरीले नियन्त्रणमा लिएर बिहीबार नेपाली पक्षलाई बुझाउन सकेको थिएन । शुक्रबार भने नेपाल प्रहरीले झापाको नाकाबाट पक्राउ गर्ने गरी वातावरण मिलाइएको हो ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका उनी कमान्डर तोकिएका थिए । राजसंस्था पुनःस्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले उनलाई कमान्डर तोकेको थियो । प्रसाईंले त्यस दिनको प्रदर्शनलाई उत्तेजित बनाउन विशेष भूमिका खेलेका थिए । हिंसा चर्किएपछि उनी लगत्तै फरार भएका थिए ।

त्यस दिन भएको तोडफोड, आगजनी र लुटपाटमा दुई जनाको मृत्यु र दर्जनौं घाइते भएका थिए । साथै करोडौँ मूल्यको क्षति भएको थियो ।

प्रसाईं भागेपछि पक्राउ गर्न नसकेको भन्दै प्रहरीको चर्काे आलोचना भएको थियो । उनी भागेछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो । फरार भएयता दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका उनले आफू नेपालमै रहेको दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?