दुर्गा प्रसाईंंलाई साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइँदै 

लोकपथ
812
Shares
फाइल तस्बिर

काठमाडौं । झापा प्रहरीको हिरासतमा रहेका दुर्गा प्रसाईंंलाई अहिले साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने भएको छ । उनलाई बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो ।

भारतको आसाम राज्यमा हिजो बिहीबार पक्राउ परेका उनलाई काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको थियो । नेपाल ल्याइएपछि उनलाई झापा प्रहरीको हिरासतमा राखिएको थियो । 

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका उनी कमान्डर तोकिएका थिए । राजसंस्था पुनःस्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले उनलाई कमान्डर तोकेको थियो । प्रसाईंले त्यस दिनको प्रदर्शनलाई उत्तेजित बनाउन विशेष भूमिका खेलेका थिए । हिंसा चर्किएपछि उनी लगत्तै फरार भएका थिए । 

त्यस दिन भएको तोडफोड, आगजनी र लुटपाटमा दुई जनाको मृत्यु र दर्जनौँ घाइते भएका थिए । साथै करोडौँ मूल्यको क्षति भएको थियो । 

प्रसाईं भागेपछि पक्राउ गर्न नसकेको भन्दै प्रहरीको चर्को आलोचना भएको थियो । उनी भागेपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो । फरार भएयता दुई वटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका उनले आफू नेपालमै रहेको दाबी गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?