पूर्वराजालक्षित गगन थापाको प्रश्न- ‘निर्मल निवासमा बसेर यस्तो छ, नारायणहिटीमा भएको भए के गर्थे ?’ 

लोकपथ
329
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै पनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरेका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् । शाहलाई धोएर जति सफा गरे पनि संवैधानिक राजा बन्न योग्य नरहेको उनको भनाइ छ । 

नेपाली कांग्रेसले लामो संघर्ष र अनुभव संवैधानिक राजा राख्न नसक्ने निर्णयमा पुगेको उनको जिकिर छ । उनले पूर्वराजा शाहले निर्मल निवासमा बसेर उत्पात मच्चाएको आरोप लगाउँदै नारायणहिटीमा भए के गर्लान् भन्दै प्रश्न गरे । उनले पूर्वराजा शाहले व्यवसायी दुर्गा प्रसाईँ र पूर्व पञ्च नवराज सुवेदीलाई ल्याएर उत्पात मच्चाएको आरोप लगाए । 

उनले भने, ‘नेपालको राजालाई धोएर जति सफा गर्‍यौँ भने पनि उसलाई कसैले पनि संवैधानिक बनाउन सक्दैन । नेपाली कांग्रेस पार्टी लामो अनुभव गरेर त्यो निर्णयमा पुगेको हो । निर्मल निवासमा बस्दाखेरि त यस्तो उत्पात मच्चायो, कहाँ भएको दुर्गा प्रसाईँलाई खोजेर ल्याएर, हाम्रै क्षेत्रमा बस्ने नवराज सुवेदी, जसले अस्तिसम्म किताब लेखेर राजालाई गाली गर्थे उसलाई खोजेर ल्याएर निर्मल निवासमा बसेर यस्तो उत्पात मच्चाएको छ । नारायणहिटीमा भएको भए के गर्थे होलान् ?’

जनताले छानेका प्रतिनिधि देश चलाउन सक्षम रहेको उनको दाबी छ । फरक प्रसंगमा बोल्दै महामन्त्री थापाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने भन्दै कोही पनि अलमलमा नरहन आग्रह गरे । २०८३ सालको मंसिरभित्र पार्टीको महाधिवेशन भइसक्ने उनको दाबी छ । 

उनले पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर बन्दै गएका कारण असन्तुष्टि रहेको भन्दै संगठन निर्माणमा जुट्न समेत पार्टी कार्यकताहरुलाई आह्वान गरे । महामन्त्री थापाले सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको आरोप लगाए । 

उनले सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गरे । उनले कर्मचारी सरुवा बढुवा र नियुक्तिको काम संयन्त्रले नभई सरकारले गर्ने कुरामा सबै स्पष्ट हुन जरुरी रहेको बताए ।

उनले एमाले–कांग्रेस नेतृत्वको संयुक्त सरकारले चाहेजस्तो उपलब्धि दिन नसकेको कारण आफू सधैँ प्रश्न गरिरहेको जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?