नेपाल र भारतका भन्सार उच्च अधिकारीहरूको बैठक काठमाडौंमा सुरु  

लोकपथ
42
Shares

काठमाडौं । नेपाल र भारत भन्सारका उच्च अधिकारीहरूको बैठक काठमाडौंमा सुरु भएको छ । 

नेपाल र भारत बिचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनुका साथै अवैध व्यापार तथा राजश्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरूको बैठक सुरु भएको हो ।

भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले बैठकमा दुई देशका भन्सार कार्यालयहरू बिचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रूपमा उपलब्ध गराउनेबारे छलफल हुने बताए ।  

उनकाअनुसार दुई देशका अधिकारीहरू बिचको बैठकमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणालीमार्फत विद्युतीय रूपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधीन एकीकृत जाँच विन्दु (ईन्टिग्रेटेड चेक प्वाईन्ट) लाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा समेत छलफल हुनेछ । 

चैत्र २८ र २९ गते दुई दिनसम्म चल्ने बैठकमा नेपालकोतर्फबाट नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गरेका छन् भने भारतको तर्फबाट राजश्व ईन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभय कुमार श्रीवास्तवले गरेका छन्  । 

नेपालको तर्फबाट वार्ता टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वाली क्वारेन्टाईन विभाग लगायतका निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।  

भारतीय टोलिमा राजश्व ईन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रीय ईकाईका सहायक महानिर्देशक, नेपाल स्थित भारतीय दूतावासका प्रथम सचिव, कलकत्ता,पटना,लखनउ भन्सार कार्यालयका प्रमुखहरू लगायतका अधिकारीहरूको सहभागी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?