काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका विकट महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे भएर बागमती प्रदेश राजधानी हेटौँडा जोड्ने सडक कालोपत्रे गर्न सुरु गरिएको छ । सो ‘जनमुक्ति मार्ग’ निर्माणका क्रममा मंगलबारदेखि काभ्रेको घर्तीछाप खण्डको सडक कालोपत्रे सुरु गरिएको हो ।
विकट डाँडापारि क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्ने मुख्य सडक सञ्जाल ‘जनमुक्ति मार्ग’ सडकखण्डअन्तर्गत महाभारतको देवीटार–घर्तीछाप–सोलाभञ्ज्याङअन्तर्गत घर्तीछापको डबली उकालोमा ढलानको काम थालनी गरिएको हो ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर भूपेन्द्र कोइरालाले सडकको घुम्ती र उकालोमा गरेर एक हजार ८०० मिटर ढलानको काम सम्पन्न गरिसकेको र आजदेखि कालोपत्रेको काम थालनी गरेको बताए । ‘मंगलबार घर्तीछापको डबलीबाट कालोपत्रेको काम सुरु गरेका छौँ, ‘उनले भने, ‘आगामी असार मसान्तसम्ममा करिब चार किलोमिटरको ढलानको काम सम्पन्न गर्ने लक्ष्य छ ।’
सो सडकखण्डअन्तर्गत देवीटार–घर्तीछाप–गोकुले सडक खण्डको करिब नौ किलोमिटरको काम अहिलेसम्ममा ६५ प्रतिशत भौतिक प्रगति र ५२ प्रतिशत आर्थिक प्रगति भएको उनले बताए । सो सडक खण्डका लागि सन्तोषी धर्म एस जेभीले ३९ करोड ७४ लाख ५५ हजारमा ठेक्का प्राप्त गरी निर्माण कार्य अगाडि बढाइरहेको र २०८२ चैत मसान्तसम्ममा सकाउनुपर्ने सम्झौता रहेको छ ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार वडा नं ६ को देवीटारस्थित बनखुखोलादेखि वडा नं ८ को घर्ती छापसम्मको सडक खण्डमा ढलान र कालोपत्रेको कामले तीव्रता लिइरहेको छ । खण्ड–खण्डमा विभाजन गरी भइरहेको निर्माण कार्यले राम्रो गति लिइरहेको र काम पनि सन्तोषजनक रूपमा भइरहेको उनले बताए । उनका अनुसार देवी टारदेखि सोला भन्ज्याङसम्मको एउटा खण्ड, सोला भन्ज्याङदेखि गोकुले–छोटेसाहन अर्को खण्ड, छोटेसाहन–सिक्रेदोभान–भोर्लेनी अर्को खण्ड र तीनखुट्टे–बुढाखानी–रजबास अर्को खण्ड गरी काम अगाडि बढिरहेको छ ।
सो सडक खण्डको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे जोड्ने सडकखण्डअन्तर्गत देवीटार–घर्तीछाप–गोकुले–छोटेसाहन–तालढुङ्गा खण्डको महाभारतको घर्तीछापस्थित सोला भन्ज्याङमा २०८० साल पुस ६ गते तत्कालीन प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल र प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया