आज तीन प्रदेशमा वर्षाको सम्भावना

लोकपथ
3.2k
Shares

काठमाडौं । आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । ‘बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ”, मौसमविद् झाले भने, ‘प्रि-मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन/चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ ।’

बुधबार साँझपख काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको थियो । गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश भएर बाहिरिएकाले आज राति पानी पर्ने सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ ।

विगत चार दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार अपराह्न कम्तीमा आधा दर्शन आन्तरिक र अन्तर्राष्ट्रिय उडानतर्फ हवाई जहाज प्रतिकूल मौसमका कारण कम ‘भिजिबिलिटी’ हुँदा केही समय आकाशमै ‘होल्ड’ भएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?