ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको तस्बिर ल्याउने राणा भारतको शरणमा

लोकपथ
5.2k
Shares

काठमाडौं । गत फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर देखिएको विषयबारे विभिन्न कोणबाट चर्चा भइरहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउँदा राजावादीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिर भव्य स्वागत गरेका थिए । सो क्रममा योगी आदित्यनाथ र पूर्वराजा ज्ञानेन्द्रको तस्बिर सँगसँगै राखिएको थियो ।

मोटरसाइकलमा योगी आदित्यनाथको तस्बिर प्रदीप विक्रम राणाले बोकेका थिए । नेपालमा योगी आदित्यनाथको तस्बिर प्रयोग गरिरहेको विषयमा आलोचना भइरहेका बेला राणा भने भागेर भारत पुगेका छन् ।

आफ्नो पछि प्रहरी लागेको भन्दै आफू भारत प्रस्थान गरेको भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सलाई जानकारी गराएका छन् ।

‘उक्त तस्बिरबारे नेपालमा धेरैले चासो व्यक्त गरिरहेका छन्, नेपाल प्रहरी मेरो पछि लागेकाले म भारतमा शरण लिन आएँ,’ राणाको भनाईलाई उदृत गर्दै नवभारत टाइम्सले जनाएको छ ।

५८ वर्षीय राणा नेपालबाट भागेर मंगलबार गोरखपुर पुगेका थिए । ‘मैले भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरिरहेको प्रहरीको आरोपमा मलाई प्रहरीले खोजिरहेको छ । यही कारणले प्रहरी मेरो पछि लागेका कारण म भागेर भारत आउनुपर्‍यो,’ उनले बताएका छन् ।

पूर्वराजाको ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको तस्बिर प्रयोग हुनुले राजावादीहरुको भीड बाहिरबाट परिचालन भएको हो कि भन्ने संसय पैदा भइरहेको छ । उनै योगी आदित्यनाथ जसले नेपाललाई हिन्दू राष्ट्र बनाउन माग गरिरहेका छन् । पूर्वराजासँग समेत राम्रो सम्बन्ध भएका कारण गोरखनाथसँग नेपालको राजपरिवारको राम्रो सम्बन्ध रहेका कारण योगी आदित्यनाथको तस्बिर प्रयोग भएको समेत बताइएको छ ।

तर राणाले भने आफूले कुनै भारतीय नेताहरुसँग भेटेर उक्त काम नगरेको दाबी गरेका छन् । उनले योगी आदित्यनाथप्रति आफ्नो श्रद्धा रहेका कारण तस्बिर प्रयोग गरेको नवभारत टाइम्सलाई बताएका छन् ।

आफूसँग पैसाको अभाव नभएकाले यसका लागि आफूलाई कसैले उक्साएको वा प्रायोजन नगरेको राणाले दाबी गरेको बताइएको छ । साथै वर्तमान सरकार नहटिएसम्म उनी नेपाल नफर्किने समेत बताएको समाचारमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?