शंकरदेव क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

लोकपथ
1.1k
Shares

काठमाडौं । विद्यार्थी संगठनहरुको आन्तरिक किचलोका कारण पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हाललाई स्थगित भएको छ ।

स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयले मंगलबार मनोनयनको समय तोकेको थियो । तर विद्यार्थी संगठनबिच आन्तरिक किचलो हुँदा निर्वाचन प्रक्रिया नै स्थगित बन्न पुगेको हो ।

स्ववियु निर्वाचन समितिका संयोजक ध्रुव सुवेदीले असामान्य परिस्थिति सिर्जना भएको भन्दै हाललाई निर्वाचनका अन्य प्रक्रिया स्थगन गरिएको जानकारी गराए ।

‘मिति २०८१ चैत्र ५ गते सम्पन्न गर्ने भनिएको स्ववियु निर्वाचनको आज मिति २०८१/११/२८ गतेदेखिको बाँकी प्रक्रिया हाल असामान्य स्थिति सिर्जना भएको हुँदा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगत गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ जारी सूचनामा भनिएको छ ।

हरेक २–२ वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालपछि २०७९ सालमा मात्रै भएको थियो । अघिल्लो पटक शंकरदेव क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले निर्वाचत जितेको थियो । त्यसो त शंकरदेवमा त्यसअघि पनि निरन्तर नेविसंघले जित्दै आइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?