काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले नेपाली कांग्रेसका नेताले चिहानको जग्गा समेत मिचेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै रास्वपा सांसदहरु शिशिर खनाल र सुमना श्रेष्ठले सो विषय संसद्मा उठान गरेका थिए ।
दुवैले नेवार समुदायको चिहानको जग्गा कांग्रेसका नेताले हडपेको भने पनि नेताको नाम भने खुलाएका छैनन् ।
पहिला बोलेका खनालले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने तारकेश्वर नगरपालिका–९ लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायले चिहानको रुपमा प्रयोग गर्ने जग्गा कांग्रेसका नेताले हडपेको आरोप लगाए ।
‘काठमाडौं क्षेत्र नं ६ मा पर्ने तारकेश्वर नगरपालिका वडा नं ९ मा रहेको मचाका अर्थात् नेवार समुदायको चिहान रहेको जग्गा नेपाल सरकारको नाममा रहेको कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयको गुनासो र उजुरीका बाबजुद पनि स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ,’ सरकारको ध्यानाकर्षण गराउँदै उनले भने ।
त्यसो त उनको भनाइपछि कांग्रेस सांसद राजेन्द्र बजगाईँले त्यसमा आपत्ति जनाए । तर सभामुखले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरे ।
त्यसपछि बोलेकी सांसद सुमनाले पनि सो जग्गाको विषयमा छानबिन गर्न माग गरिन् । त्यसपछि नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाए ।
‘काठमाडौं क्षेत्र नं ६ मा पर्ने तारकेश्वर–९ को लोकतान्त्रिक चोकमा मचाका नेपाल सरकारको नाममा रहेको कित्ता नं ६२ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीय जनताहरुको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ,’ सांसद सुमनाले सरकारको ध्यानाकर्षण गराउँदै भनिन् ।
त्यसपछि नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाए ।
नेताको नाम उल्लेख नगरे पनि पार्टीको बदनाम गराउन खोजिएको भन्दै नेताहरुले आपत्ति जनाउँदै बोल्न माग गरे ।
तर सभामुख देवराज घिमिरेले भने जनताको जनप्रतिनिधिमुलक थलोमा सांसदले तथ्य भएरै बोलेको हुने भन्दै बस्न आग्रह गरे । नेपाली कांग्रेसका सांसदहरुले भने उक्त शब्दलाई रेकर्डबाट हटाउन माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया