काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकले सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१ अगाडि बढाउने भएको छ । आज ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
गत माघ १५ गते प्रतिनिधिसभामा दर्ता भएको यो विधेयक १२ दिनपछि माघ २७ गते सभामा प्रस्तुत भएको थियो । त्यसपछि फागुन १२ गते विधेयकमाथि सामान्य छलफल भएको थियो ।

सो छलफलमा भाग लिँदै सांसदहरूले प्रहरी विधेयकमा रहेका प्रावधानहरू र सशस्त्र प्रहरी विधेयकमा रहेका प्रावधानहरू मिल्दोजुल्दो रहेको बताउँदै यी दुवै संगठनको भूमिका प्रस्ट गर्न र दुई विधेयकमा रहेका दोहोरोपना हटाउन सुझाव दिएका थिए ।
सांसदहरूले सशस्त्र प्रहरीको परिचालनको अधिकार, प्रमुख जिल्ला अधिकारीको भूमिकाको आवश्यकता र औचित्यमाथि पनि प्रश्न उठाएका थिए । सशस्त्र प्रहरीको सरुवा र बढुवामा राजनीतिक संलग्नता र हस्तक्षेप रहने गरेको भन्दै यस्तो प्रवृत्ति अन्त्यको नीति खोजिएको छ ।
सैद्धान्तिक छलफलमा उठाएका विषयहरू समेटेर सांसदहरूले संशोधन प्रस्ताव समेत दर्ता गरेका छन् । सशस्त्र प्रहरी विधेयकमा सांसदहरूका ६४ वटा संशोधन परेको छ ।
आजको प्रतिनिधि सभाले दफावार छलफल राज्य व्यवस्था समितिमा पठाएपछि सरकारले ल्याएको विधेयक र सांसदका संशोधन एकै ठाउँ राखेर छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया