काठमाडौं । भद्रबासस्थित सहिद आदर्श क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको टिमले उम्मेदवारी दर्ता गराएको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि तिमल्सिनाको समूहले नेपाली कांग्रेस निकट भातृ संगठन नेविसंघको तर्फबाट उम्मेदवारी दर्ता गराएका हो ।
तिमल्सिनासँगै नेविसंघको तर्फबाट सचिवमा शिवप्रसाद गजुरेल (सन्तोष), कोषाध्यक्षमा सविना खड्काले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, सदस्यमा मनोज तामाङ, राजकुमार भुजेल, नवराज पराजुली, सुशान्त चौलागाईं, स्मृति नगरकोटी, राजेश्वर फुयाँल, निशान्त पुडासैनी, करुणा दाहाल, बिना बस्नेत, उषा कुइँकेल, रुपेश खनाल, रोजिना अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
शैक्षिक सुधारका साथै विद्यार्थीहरुको हक अधिकार सुनिश्चित गर्नका लागि आफूले उम्मेदवारी दिएको तिमल्सिना बताउँछन् । ‘क्याम्पसमा बढिरहेको चरम बेथितिलाई रोक्ने मेरो पहिलो प्रयास हुनेछ,’ उनले भने, ‘स्ववियुको क्षेत्राधिकारभित्र रहेर सकारात्मक काम गर्नका लागि दिलोज्यान दिएर लाग्नेछु ।’
साथै, स्ववियुलाई उदाहरणीय बनाउने समेत तिमल्सिनाको योजना छ । ‘पछिल्लो समय स्ववियु प्रति आममानिसले हेर्ने धारणा फरक बन्दै गएको छ,’ उनले भने, ‘त्यो धारणालाई चिरेर सहिद आदर्श क्याम्पसको स्ववियुलाई उदाहरणीय बनाउन योजनावद्ध तरिकाले चुनावी मैदानमा होमिएको छु ।’
त्यस्तै, अनेरास्ववियुको तर्फबाट महेश बस्नेत, सचिवमा अमृता विक, कोषाध्यक्षमा सञ्जय नगरकोटीले उम्मेदवारी दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया