न्यायोचित आवश्यकताको सहज पूर्ति हुनुपर्छ : प्रधानमन्त्री ओली

लोकपथ
154
Shares
फाइल तस्बिर

विराटनगर  । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको न्यायोचित आवश्यकता सहज पूर्ति हुनुपर्ने बताएका छन् । कोशी प्रदेशसभाको छैटौँ अधिवेशनको २३औँ बैठकलाई आज सम्बोधन गर्दै उनले प्रदेश सरकारलाई विकास र सुशासनको लागि उचित नीति बनाउन सुझाव दिए । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुरूआतको थोरै अवधिमा धेरै काम भएको स्पष्ट पारे । व्यवस्थामा परिवर्तन आयो तर अवस्थामा परिवर्तन नआएको भाष्य गलत भएको भन्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षालाई पूरा गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। 

कृषि, उद्योग, पर्यटन, सेवा, शिक्षा स्वास्थ्य, वातावरण र रोजगारीका क्षेत्रमा सरकारले निकै सराहनीय काम गरेको दाबी गर्दै प्रधानमन्त्रीले बेरोजगारी अन्त्य गर्न उद्यमशीलतामा जोड दिनुपर्ने बताए । उनले मुलुकको आर्थिक विकास गर्न र जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सातवटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिँदै सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई रक्षा गर्छ भने ।

प्रधानमन्त्री ओलीले कोशी प्रदेश ज्ञान, सभ्यता र त्यागको भूमि भएको बताउँदै सन्तुलित वातावरण र उचित पर्यावरण बनाउन कोशी प्रदेशका हिमालको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

‘प्राकृतिक हिमाल र भूगोल एवं सम्पदाको धनी कोशी प्रदेश हाम्रो लागि गौरव हो,‘प्रधानमन्त्री ओलीले भने, ‘जातजाति, धर्म, संस्कृति र कलाको धनी यो प्रदेशमा अनेक प्राकृतिक सम्पदा र धार्मिक आस्थाका धरोहर छन् ।’ उनले दिगो विकास लक्ष्यमा नेपाल ४८ प्रतिशत प्रगति हासिल गरेको दाबी गरे । 

‘म शान्ति, राष्ट्रिय एकता र विकासका निम्ति अडिग छु । व्यावसायिक दक्षताको कमीका कारण नेपाली श्रमिक उचित पारिश्रमिक नपाउने कारणले वैदेशिक रोजगारमा जाने गरेका छन्, ‘प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘लोकतन्त्रमा नै सामाजिक न्याय र समानता हुन्छ एवं नागरिकको सर्वोच्चता कायम हुन्छ ।’

सरकार भ्रष्टाचारलाई नियन्त्रणको बाटोमा अघि बढेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा एकजुट भएर अघि बढ्न आग्रह गरे। उनले कोशी प्रदेश सरकार सक्रियता र सक्षमताका साथ अघि बढ्नुपर्ने र यसका लागि संघीय सरकार सहयोग गर्न तत्पर रहेको बताए।

प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै देशको मुहारलाई फेर्न सरकार सुशासन र समृद्धको बाटोमा तीव्र गतिमा काम गरिरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?