संसद्मा ओली नदेखेपछि प्रचण्डको कटाक्ष : ‘संस्कारहीनता हो कि कुण्ठा ?’

लोकपथ
56
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको संसद्को बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन् ।

आज विशेष समय माग गरेर बोलेका पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यसअघि सम्बोधन गर्दा समेत प्रधानमन्त्री ओली उपस्थित थिएनन् । आजको बैठकमा समेत प्रधानमन्त्री ओली उपस्थित नभएपछि प्रचण्डले सत्तापक्षले प्रतिपक्षलाई उपेक्षा गरेको आरोप लगाए ।

सत्तापक्षबाटै कुशासन भित्र्याउने काम भइरहेको भन्दै प्रचण्डले विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित नहुनु कुण्ठा, घमण्ड र संस्कारहिनता रहेको कटाक्ष गरे ।

‘लोकतन्त्रलाई चुनौती जति बाहिरबाट छ, त्यति सत्तासिन साथीहरुको कुशासनले व्यवस्थाभित्रै लोकतन्त्रलाई त्यो भन्दा बढी चुनौती दिइरहेको छ भन्ने कुरालाई हामीले बिर्सिन हुँदैन । सत्तारुढ दलका साथीहरुले लोकतन्त्रका मूल्य र मान्यतालाई निरन्तर उपेक्षा गरिरहनुभएको छ । संसद् सञ्चालनमा तपाईँहरुले प्रतिपक्षलाई कति स्पेस दिनुभएको छ आफैँसँग सोध्नुहोला,’ प्रचण्डले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेता रोस्टममा उभिँदा प्रधानमन्त्रीको अनुपस्थिति निरन्तर कायम रहनु घमण्ड हो कि, संस्कारहिनता हो कि, कुण्ठा हो ? त्यसको जवाफ पनि आफैँ खोज्नु होला । अर्को प्रतिपक्षी दलको नेतालाई निलम्बन गरिएको छ र त्यसले लोकतन्त्रमा पारेको प्रतिकुल असर आफैँ मूल्यांकन गर्नुहोला ।’

त्यस्तै उनले पछिल्लो समय सरकारको अकर्मन्यताको कारण राजावादी शक्तिहरु सल्बलाउन थालेको आरोप लगाए । साथै राजावादी शक्तिहरुलाई समेत आफ्नो भविष्य लोकतन्त्रमा खोज्न आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?