काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले शिक्षकहरुको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै पूर्व शिक्षामन्त्री समेत रहेका सांसद केसीले शिक्षक महासंघले गरिरहेको आन्दोलनप्रति सरकार उदासिन रहेको आरोप समेत लगाए ।
शिक्षकहरुको प्रतिनिधित्व गर्ने नेपाल शिक्षक महासंघले विभिन्न समयमा आन्दोलन गरे पनि सम्झौता गर्ने र त्यसलाई कार्यान्वयन नगर्ने सरकारको प्रवृत्ति निन्दनीय रहेको आरोप लगाए ।
‘लाखौँलाख शिक्षकहरुको प्रतिनिधित्व गर्ने नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ । सरकार विभिन्न माध्यमबाट सम्झौता गर्ने र त्यो सम्झौतालाई निरन्तर अवहेलना गर्ने जुन प्रक्रिया छ त्यो खेदजनक मात्र होइन त्यो निन्दनीय पनि हो । राज्यले कसैलाई बचन दिएपछि त्यसमा इमान्दार हुनुपर्छ । लाखौँलाख शिक्षकहरुको प्रतिनिधित्व गर्ने शिक्षक महासंघसँग गरिएको सम्झौता वेवास्ता गर्नु निन्दनीय र दुखद छ,’ सांसद केसीले भने ।
त्यस्तै शिक्षकहरुसँग सरकारले तत्काल वार्ता गरी शिक्षकहरुका मागहरु पूरा गर्न आग्रह गरे ।
त्यस्तै सामाजिक सुरक्षा अन्तर्गत वृद्धावृद्धा, अपांग लगायत एकल महिलाहरुलाई सहज रुपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन समेत माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया