काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजावादी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) प्रति कटाक्ष गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईँले पूर्वराजाको स्वागतका लागि आफूले आह्वान गरेको आन्दोलनमा दुई दल मिल्न आएको भन्दै कटाक्ष गरे ।
गणतन्त्र मान्दै सांसददेखि मन्त्रीसम्म हुने र अहिले पुनः राजतन्त्रको वकालत गरिरहेको आरोप लगाए ।
‘सदनमा भएका साथीहरुको त के कुरा गर्नु, आज यो दिन ल्याउने सबैभन्दा ठूलो दोष र फ्रड काम गरेको राप्रपाले हो ।
त्यतिबेला ०७२ साल असोज ४ गते राप्रपा भन्ने पार्टी र त्यसका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देन हस्ताक्षर गरेको थिएन भने न राजसंस्था जान्थ्यो, न हिन्दू अधिराज्य जान्थ्यो । नदीमा बगाएर राजसंस्था र हिन्दू अधिराज्यलाई तिलाञ्जली दिने अनि अहिले धमिलो पानीमा माछा मार्नलाई आउने ?,’ कटाक्ष गर्दै प्रसाईँले भने ।
त्यस्तै राप्रपा र राप्रपा नेपालले आफ्नो शक्ति बढाउन आफूलाई प्रयोग गरिरहेको समेत आरोप लगाए । साथै आफू पूर्व राजासँगै गएर आन्दोलन गर्ने तर राप्रपा र राप्रपा नेपालसँग मिलेर आन्दोलन नगर्ने चेतावनी समेत दिए ।
‘अहिले उहाँहरुले मलाई त गोठालो जस्तो पो सोच्नुभएको छ । म संगत गर्दा राजाको गर्छु, आन्दोलन गर्नुपर्छ भने राजासँग मिलेर गर्छु । म गोठालाहरुसँग सडकमा गएर नाटक देखाउँदिन् । यो कुरा सबै जनालाई हेक्का रहोस्, क्लियर होस्,’ उनले भने ।
साथै राप्रपा र राप्रपा नेपालले राजतन्त्रको मुद्दा छाडिसकेको भन्दै आफूलाई काखी च्याप्न पूर्व राजा ज्ञानेन्द्रलाई समेत आग्रह गरे । राप्रपा र राप्रपा नेपालले गणतन्त्रमा लाभ लिएको संसद्वादी दलहरुसँग मिलेको भन्दै आफूले मात्रै राजतन्त्र फर्काउन सक्ने दाबी समेत प्रसाईँको रहेको छ ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं आगमन र विमानस्थलमा भव्य स्वागतपछि राजनीतिमा तरंग उत्पन्न भएको छ । ज्ञानेन्द्रको स्वागतमा राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईँ लगायत अन्य समूहहरुले समेत साथ दिएका थिए । तर राजावादी दलहरु र प्रसाईँ पक्षबीच जस लिने होडबाजी देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया