…अनि ज्ञानेन्द्र शाहीले विष्णु रिमाललाई वडाध्यक्षको तयारी गर्न सुझाव दिए 

लोकपथ
2.3k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल र राप्रपाबाट प्रत्यक्ष निर्वाचित ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) बीच आरोप–प्रत्यारोप जारी रहेको बेला शाहीले रिमाललाई वडाध्यक्षको तयारी गर्न सुझाव दिएका छन् । 

जनप्रतिनिधिका रूपमा हालसम्म कुनै पनि निर्वाचन नलडेका रिमाललाई प्रत्यक्ष निर्वाचनमार्फत पहिलो पटक नै प्रतिनिधिसभा सदस्य बनेका शाहीले व्यंग्त्यामकरुपमा यस्तो सुझाव दिएका हुन् । 

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग भएको विषयलाई लिएर यी दुई नेताबिच सामाजिक सञ्जालमा वाकयुद्ध चलिरहेको छ । यो क्रम मंगलबार बिहानसम्म पनि जारी नै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहलाई स्वागत गर्ने क्रममा राप्रपाका कार्यकर्ता प्रदीपविक्रम राणाले मुख्यमन्त्री आदित्यनाथको तस्बिर अंकित बोर्ड प्रदर्शन गरेपछि रिमालले ‘राष्ट्रवादी महोदयहरूले र्‍यालीमा प्रयोग गरेका फोटाहरू’ भन्दै उक्त तस्बिर फेसबुकमा राखेपछि यी दुईबीचको ‘फेसबुक वार’ सुरु भएको थियो ।

यसको जवाफमा सोमबार बिहान राप्रपा प्रवक्तासमेत शाहीले रिमाललाई फेसबुकमार्फत भारतका मुख्यमन्त्री आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा रिमालले नै राख्न लगाएको आरोप लगाएका थिए । उनले लेखेका थिएm ‘हिजो पूर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ, नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छिः छिः! विदेशीको एजेण्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठुलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? माक्र्स, लेनिन, माओ कुन देशका हुन् ।’ 

शाहीले यस्तो पोस्टपछि रिमाल आक्रोशित बनेको उनको स्टाटसबाट सहजै बुझ्न सकिन्छ । 

रिमालले लेखेका थिए, ‘काँक्रा चोरहरू काँक्रा चोर्छन्, खान्छन्, पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन् । दलालहरू पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि खाल जोगाउन त्यस्तै हर्कत् गर्छन् ।’

एमाले उपमहासचिव रिमालले अगाडि थप लेखेका थिए, ‘डिसइन्फरमेसनको सहारामा एक्सिडेन्ट्ली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो । यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटि एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल जवाफ गर्नु छैन । कसले कहाँ के गर्दै छ– समाचार त आएकै छ नि !’ 

मंगलबार पुनः शाहीले रिमाललाई वडाध्यक्षको तयारी गर्न सुझाव दिए । ‘आदरणीय भनौँ भने कसरी भनौँ तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ, प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको  स्याल हुयाँ दिन बन्द गर्नुहोस्’, मंगलबार बिहान शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

उनले लोकतन्त्रको प्रसंग निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? भन्ने प्रश्न गरे । 

‘के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ? लोकतन्त्र त तपाईँहरू जस्ता अलोकतान्त्रिक व्यक्तिहरूलाई लुटी खाने भाँडो भयो, लुटतन्त्र मच्चाउने धन्दा भयो। यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस् र तपाईँ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडाअध्यक्षको तयारी गर्नुस्,’ शाहीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?