काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आन्तरिक रोजगारीको सिर्जना गर्न सरकारले उद्यमशीलतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइरहेका छन् । सोमबार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले सरकारले नीति तथा कार्यक्रममै रोजगारी प्रवद्र्धन दशक घोषणा गरेको उल्लेख गर्दै यो लगानी र रोजगारी अभिवृद्धि दशक हुने बताए । उनले सन् २०३० सम्ममा उद्यमशीलता र आधुनिकीकरणमार्फत सोचेभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए । नेपालमा काम अनुसारको पारिश्रमिक नपाउँदा श्रमिकहरु विदेशी गइरहेका कारण श्रम बजार र पारिश्रमिकबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री ओलीले सरकार फलाम र तेल खानीको उत्खनन गर्ने तयारीमा रहेको समेत बताए । उनले फलाम खानीमार्फत नेपाललाई स्टिल र फलामजन्य धातुमा आत्मनिर्भर बनाउन सकिने बताए । उनले श्रम पलायन रोक्दै मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेकोसमेत बताए । उनले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार लागिरहेको उल्लेख गर्दै निजी क्षेत्रको सहयोग अपरीहार्य रहेकोसमेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया