कांग्रेस–एमालेको कुशासनका कारण प्रतिगामीहरू सक्रिय : माओवादी

लोकपथ
728
Shares

काठमाडौं । माओवादी पदाधिकारी बैठकले कांग्रेस–एमालेको सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा प्रदर्शन हुनु राम्रो कुरा नभएको पनि निष्कर्ष निकालेको छ । ‘ज्ञानेन्द्रको पक्षमा भएको प्रदर्शन राम्रो होइन, हाम्रो कारणले गणतन्त्र आएको हुनाले यसको रक्षा र विकास पनि हामीले नै गर्नुपर्ने भन्नेमा हामी पुगेका छौँ,’ बैठकको निचोड सुनाउँदै एक नेताले भने, ‘कांग्रेस–एमाले सरकारले गर्न नसकेका कामले जनतामा झन् बढी असन्तुष्टि चुलायो । त्यो राजावादी र हिन्दूवादीतिर गयो । यसलाई न्यूनीकरण गर्नुपर्छ ।’

प्रतिगामीहरू सक्रिय भए पनि नेपाली जनतालाई भने धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताए । 

संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरूले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको उनको जिकिर छ ।

‘अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको छ,’ उनले भने । 

बैठकले संघीय संसदका साथै सातै प्रदेशका संसदहरूमा माओवादीले सशक्त भूमिका निर्वाह गर्ने र जनताका समस्यालाई उजागर गर्ने निर्णय गरेको छ । .

त्यस्तै पार्टीले वृहत् जनपरिचालन गर्ने निर्णय गर्दै त्यसको मिति अर्को बैठकले तय गर्ने सापकोटाले जानकारी दिए । बैठकमा जनतासँग माओवादी अभियानको प्रारम्भिक समीक्षा भएको र झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरेको छ । हाललाई स्थगित गरिएको अभियान अर्को महिना पुनः सुरु गर्ने माओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?