पलाऊ जान हिँडेका २० नेपालीको थाइल्यान्डबाट उद्धार

लोकपथ
210
Shares

काठमाडौं । ओसिनिया महादेशअन्तर्गत पलाऊ जान भन्दै एजेन्टमार्फत ठगिएका २० जना नेपालीलाई थाइल्यान्डबाट उद्धार गरिएको छ । बैंककस्थित नेपाली दूतावासले उनीहरूको उद्धार गरेको हो ।

पलाऊ देशमा राम्रो रोजगारी रहेको तथा प्रतिघन्टा ८ देखि ९ डलरसम्म कमाई हुने भन्दै बाँके, बर्दिया लगायतका जिल्लाबाट भारत हुँदै थाइल्यान्ड पुराइएका २० युवा अलपत्र परेपछि दूतावासले उद्धार गरेको हो ।

पलाऊमा राम्रो रोजगारीको आसमा बिचौलिया मोहन खड्काको सम्पर्कमा पुगेका ती युवाहरूले प्रतिव्यक्ति ७ देखि १० लाख रुपैयाँ बुझाएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । पलाऊमा होटेल तथा इलेक्ट्रीसियन काममा जाने भन्दै उनीहरूसँग रकम लिएर थाइल्यान्ड पुर्‍याई बिचल्ली पारिएको थियो ।

एजेन्टले सुरुमा पलाऊको कार्ड बनाउनु पर्ने भन्दै प्रतिव्यक्ति ४ लाख रुपैयाँ लिइएको थियो भने पछि बैंककका होटेलमा हस्पिटालिटी सम्बन्धी एक महिनासम्मको तालिम गराउनुपर्ने भन्दै थप ३ लाख गरी कुल ७ लाख रुपैयाँको दरले रकम असुल गरिएको पाइएको ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले बताए । उनीहरूलाई काठमाडौंबाट दिल्ली हुँदै थाइल्यान्ड पुराइएको थियो ।

थाइल्यान्ड पुराएपछि त्यहाँ करिब एक महिना हस्पिटालिटी सम्बन्धी अङ्ग्रेजी तालिम हुने भनिए पनि त्यहाँ कुनै तालिम गराइएको थिएन । थाइल्यान्डमा ४२ दिनसम्म पनि तालिम नगराई राखिएको थियो भने एजेन्टले थप रकम माग गर्न थालेका थिए । थप रकम दिन नसक्ने भन्दै पीडितहरू नेपाल फर्कन खोजेपछि एजेन्ट मोहन खड्काले नेपाल फर्कने टिकट भने काटिदिएका थिए ।

तर थाइल्यान्डमा रहेका एजेन्टहरू दिव्य र लेक निरौलाले पासपोर्ट नै फिर्ता नदिई लुकाइदिएका थिए, जसका कारण उनीहरू नेपाल फर्कन पाएका थिएनन् । त्यसपछि दूतावासको सम्पर्कमा पुगेका पीडितहरूलाई दूतावासले एकतर्फी ट्राभल डकुमेन्ट बनाई गत फागुन २३ गते नेपाल फर्काइएको थियो । त्यसपछि मानव बेचबिखन अनुसन्धान ब्युरोको सम्पर्कमा पुगेका पीडितबाट जानकारी लिने र एजेन्टको खोजी गर्ने कार्य भइरहेको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?