पोखराबाट काठमाडौं उडे पूर्वराजा, पञ्चेबाजा बजाएर बिदाइ

लोकपथ
147
Shares

पोखरा । एक महिनादेखि पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो समिट एयरको चार्टर जहाजमार्फत काठमाडौं प्रस्थान गरेका छन् । उनलाई पोखरा विमानस्थलमा समर्थकहरूले भव्य बिदाइ गरे ।

पोखरा विमानस्थलमा पूर्वराजालाई बिदाइ गर्न समर्थकको बाक्लो  भिड लागेको थियो । उनलाई पञ्चेबाजा बजाएर बिदाइ गरिएको थियो । त्यसबेला समर्थकले राजसंस्थाको समर्थनमा नाराबाजी समेत गरेका थिए । उनलाई दुबोको माला लगाएर बिदाइ गरिएको थियो । 

काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गर्ने तयारी गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि हजारौं समर्थकहरू जम्मा भइसकेका छन् ।

राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शन गरिरहेका छन् । 

राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिएका छन् । 

राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् । शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानेछन् । राजावादीहरु पनि उनलाई पुर्‍याउन र्‍यालीसहित निर्मल निवाससम्म पुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?