रवीन्द्र मिश्रको प्रस्ताव : राजसंस्थासहितको प्रजातन्त्रका लागि नवीन समझदारी गरौँ

लोकपथ
812
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक दलहरूसमक्ष राजसंस्थासहितको प्रजातन्त्रका लागि नवीन समझदारीका लागि प्रस्ताव गरेका छन् । उनले राजसंस्था पुनर्स्थापनकोआवाजलाई दबाउन खोजे नसोचेको परिस्थिति उत्पन्न हुनसक्ने चेतावनीसमेत दिएका छन् । उनले मुलुकको भविष्य र अहिलेको दुरावस्थालाई हेरेर देशलाई नवीन समझदारीमा लैजानै पर्ने बताएका छन् ।

मुलुकको भविष्य संकटमा परेको, देश संसारकै भ्रष्टमा गनिएका, युवाहरू देशमा भविष्य नदेखेर विदेश उडिरहेको भन्दै उनले भनेका छन्, ‘देशमा एउटा एकताको प्रतीक, अस्मिताको प्रतीक र सार्वभौमसत्ता, न्यायको प्रतिकका रूपमा राजनीतिभन्दा माथि राजसंस्था आवश्यक छ । त्यसैले म आह्वान गर्छु कि तपाईँहरू सबै जना सामाजिक सञ्जाल वा टिभी मात्रै हेरेर बस्ने होइन कि आफैँ सडकमा आउनुस् ।’

उनले राजसंस्थाको पक्षमा सडकमा आएका जनतालाई दमन नगर्न पनि चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘सरकारले दमन गर्न खोजिरहेको छ । उहाँहरूलाई निवेदन गर्न चाहन्छु, हालै सिरिया, श्रीलंका, बंगलादेशमा के भयो ? शासकले जनताको आवाजलाई दमन गर्न खोज्दा, केही होइन भन्दा आफैँ भाग्नुपर्ने अवस्था आयो कि आएन ? ठूलो जनधनको क्षति भयो । त्यसैले यस्तो आवाजलाई न्यूनीकरण नगरौँ ।’

उनले विगतमा राजाहरूले सानो क्षति हुनासाथ छोडिदिएको स्मरण गर्दै भनेका छन्, ‘दलहरूले इच्छा गरेको भरमा राजा वीरेन्द्रले व्यवस्था नै त्यागे । ज्ञानेन्द्रले गद्दी छोड्नुपर्‍यो । बढी क्षति नहोस्, आन्दोलन नियन्त्रणबाहिर नजाओस्, हिंसातिर नमोडियोस् भनेर उहाँहरूले चाँडो निर्णय लिनुभएको हो । अहिले जनताले राजसंस्थासहितको संवैधानिक प्रजातान्त्रिक चाहेका छन् भन्ने कुरा मनन गरेर शान्तिपूर्णरुपमा सङ्क्रमणलाई अगाडि बढाउन नवीन समझदारीमा जाऊँ । राजसंस्थाको पनि, दलहरूको पनि र राजसंस्थाविरुद्ध युद्ध गरेको माओवादी पनि अटाउने गरेर उहाँहरूले नै अग्रसरता लिने कामना म गर्छु । उहाँहरूले त्यो गर्नुभएन र दबाउने वा न्यूनीकरण गरिराख्नुभयो भने कुनै बेला विस्फोट भएर श्रीलंका, बंगलादेश र सिरियाको रूप धारण गर्न सक्छ, जुन अहिलेको ठूला नेता, पार्टी देश, जनता कसैका लागि अनुकूल र हितकर हुँदैन ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?