इलामका चार सय ५६ परिवार बेसार खेतीमा रमाउँदै

लोकपथ
140
Shares

इलाम । रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन् । तीमध्ये एक सय १५ परिवार व्यावसायिक चिया खेती गर्छन् भने ८० परिवारले बेसार खेती सुरु गरेका छन् । सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक रूपमा विविध खेती गरिरहेका छन् । गत वर्ष गाउँपालिकाले बेसार खेती प्रवर्द्धन गर्न सहकारीमार्फत तालिमसँगै र अनुदान उपलब्ध गराएपछि यहाँका किसान चिया र बेसार खेतीमा आकर्षित भएका हुन् ।

बाँदरले दुःख दिएर खेती गर्न  मन नलागेका बेला रोङ–४ किटेनीकी उर्मिला गुरुङलाई सहकारीले बेसारको बीउ अनुदान दिएपछि उनले बारीभरि बेसार लगाएकी छिन् । ‘एक रोपनी जमिनमा ४० केजी बेसार रोपेको दश ४०० केजी फल्यो । बाँदरले दुःख नदिने रहेछ । बजार खोज्नु पर्दैन, सहकारीले बारीबाट नै लैजान्छ’, गुरुङले भनिन्, ‘४० केजी एक हजार छ सयका दरले बिक्री भयो ।’ पहिले–पहिले खानका लागि मात्र रोपिने बेसार व्यावसायिक खेती गर्न थालेपछि मनग्य आम्दानी हुन थालेको उनले बताए ।

सोही वडास्थित गैरीगाउँका हेम लाप्चा र रत्न लाप्चाले पनि जनही ४० केजी बेसार रोपेका  थिए । मनग्य उत्पादन भएपछि उत्साहित उनहरुले खेती विस्तार गर्ने योजना सुनाए । 

सहकारीले किसानलाई पायक पर्ने ठाउँ छानेर संकलन केन्द्र तोकेको छ । त्यहाँबाट रु ३० प्रतिकिलोका दरले किसानले उत्पादन गरेको काँचो बेसार खरिद गर्ने गरिएको सहकारी संस्थाका व्यवस्थापक गणेश अर्यालले बताए । ‘प्याकेजिङ’, ‘ब्रान्डिङ’ र ‘लेभलिङ’ पनि सहकारी नै गर्दै आएको छ । ‘धेरैले सहकारी संस्थाको कार्यालयमा आएर समेत लैजान्छन्’, उनले भने, ‘गाउँपालिकामा आउने अतिथिलाई पालिकाले स्थानीय उत्पादन नै कोसेलीका रूपमा उपहार दिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?