काठमाडौं । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने घोषणा गरेको छ । उसले युक्रेनमा नपुगेका अमेरिकी सैन्य उपकरणलाई पनि बाटैमा भएपनि रोक्ने बताएको छ ।
यो निर्णय तुरुन्तै लागू हुने र यसले युक्रेनलाई दिने प्रक्रियामा रहेको एक अर्ब डलरभन्दा बढीको हतियारलाई प्रभाव पार्ने भनेर ट्रम्प सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै द न्यु योर्क टाइम्सले लेखेको छ । ती अधिकारीका अनुसार सोमबारको सो निर्णय ट्रम्पले उनका वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग धेरै बैठकहरू गरेपछि लिइएको हो ।
युक्रेनका नेताहरूले शान्तिप्रति असल विश्वासको प्रतिबद्धता नदेखाएसम्म ह्वाइट हाउसले सबै विद्यमान सैन्य सहायता रोक्ने घोषणा गरेको हो ।
चार दिनअघि ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तनावपूर्ण भेटवार्ता भएलगत्तै अमेरिकाले यो कदम चालेको हो ।
ट्रम्पको यो आदेशले युक्रेनलाई दिइने दसौँ करोड डलर पैसा पनि रोक्नेछ ।
युक्रेनप्रति आक्रामक नीति अँगालेका ट्रम्पको विदेश नीति रुससँग मिल्ने भएको भनेर रुसी अधिकारीले पनि भन्न थालेका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकालाई ट्रम्पले द्रुत गतिमा रुससँग नजिक ल्याइरहेको बताएका छन् ।
पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले गत वर्ष चुनाव प्रचार क्रममै आफूले जिते रुस–युक्रेन युद्ध २४ घण्टाभित्रै रोकिदिने घोषणा गरेका थिए । कसरी रोक्ने भनेर नखुलाए पनि सैन्य सहायता रोक्ने धम्की दिएर युक्रेनलाई रुसको सर्त मान्न दबाब दिने अनुमान गरिएको थियो ।
ट्रम्पले सत्ता सम्हालेपछि जुन गतिमा विदेश नीति परिवर्तन गरेर रुसलाई फाइदा हुने काम र कुरा गरिरहेका छन्, त्यसले स्वयं रुसी अधिकारीहरू नै अचम्ममा परेको भनेर कति पश्चिमा मिडियाले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया