हिमालय एअरलाइन्सले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

लोकपथ
784
Shares

काठमाडौं । हिमालय एअरलाइन्सले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ ।

आगामी मार्च ३१, २०२५ देखि सुरु हुने यो नयाँ रुटको उडानमार्फत हिमालय एअरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ जुन एअरलाइन्सका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा हुनेछ ।

काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्न लागेको एअरलाइन्सले जनाएको छ ।

प्रारम्भिक योजनाअनुसार काठमाडौं–ल्हासा उडान (H9 774) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा बिहान ८ः३० बजे उडान भर्ने र सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ । त्यसैगरी, ल्हासा–पोखरा उडान (H9 731) ले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा १३ः१५ बजे उडान भर्ने र सोही दिन नेपाली स्थानीय समयअनुसार १२ः४५ मा पोखरा अवतरण गर्नेछ ।

यसै गरी, ऐतिहासिक पोखरा–ल्हासा उडान (H9 732) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१, २०२५ मा स्थानीय समयअनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ । त्यसैगरी, ल्हासा–काठमाडौं उडान (H9 775) ले ल्हासा गोङ्गर विमानस्थलबाट अप्रिल ०१, २०२५, मा स्थानीय समयअनुसार १२ः३० मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार १२ः०५ मा काठमाडौँ अवतरण गर्नेछ ।

आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको हिमालय एअरलाइन्सले जनाएको छ । त्यस्तै यो मार्गमा उडान शुभारम्भ भएसँगै सुस्त ग्रीष्मकालीन सिजनमा पनि पर्यटन बढ्ने अपेक्षा गरेको समेत एअरलाइन्सले जनाएको छ ।

एअरलाइन्सका उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सुरु हुन लागेकोे रुटप्रति उत्साह व्यक्त गर्दै भने, ‘हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । हिमालय एअरलाइन्स्ले सधैं चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै आएको छ र नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको छ । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सुरु गरिएको यस उडानले हाम्रो एअरलाइन्स्को दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्दछ । यो नयाँ रुटको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको छ । हामी हाम्रा उडानहरूमा यात्रुहरूलाई स्वागत गर्न र उहाँहरूलाई नेपाल र चीन दुवैले प्रदान गर्ने प्राकृतिक सौन्दर्य र विविध अवसरहरूसँग जोड्न तत्पर छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?