काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहने बताएका छन् ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसीसी) को विसं १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्रसूर्य अङ्कित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईँहरूले निःस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रूपमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ र यस तालिम हासिल गरेका ज्ञानले तपाईंहरुलाई उक्त कार्यको लागि अभिप्रेरित र सहयोग गर्ने विश्वास लिएको छु ।’
प्रधानमन्त्री ओलीले देशभक्ति, कर्तव्यपरायणता र श्रेष्ठताका लागि दीक्षित छात्रछात्रालाई शुभकामना दिँदै अरूलाई छिर्के लगाएर नभई स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, प्रधानसेनापति अशोकराज सिग्देल, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । सो अवसरमा भारत र माल्दिभ्सका एनसीसी र भुटान स्काउटका प्रमण्डलको पनि सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया