काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा नेपाल) ले संसद्को दुई शक्तिको मिलानबाट बनेको सरकारले जनतालाई कोरा आश्वासन बाड्ने बाहेक केही काम नगरेको आरोप लगाएको छ ।
आजबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ ।
‘संसदीय इतिहासमा विरलै देखिने संसदको पहिलो र दोस्रो प्रमुख पार्टी मिलेर सरकार बनेको पाइन्छ । सबैभन्दा ठूलो दल नेपाली कांगे्रस र दोस्रो ठूलो दल नेकपा (एमाले) ले गठबन्धन गरी सात बुँदे सहमतिको जगमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गरे । सरकार गठन पश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सिमित रहेको देखिन्छ । सरकारप्रति जनतामा नैरास्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै ठोस नीति कार्यक्रम तथा योजना देखिन्न,’ प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै सरकारले हालै ल्याएको भूमिसम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने माग समेत जसपा नेपालको रहेको छ । भूमिसम्बन्धी अध्यादेश फिर्ता नगरे अन्य ५ वटा अध्यादेशमा समेत सहयोग नगर्ने जसपा नेपालको अडान रहेको छ ।
‘संसदमा प्रस्तुत गरिएको ६ वटा विधयेक मध्ये भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेको, रियल स्टेट र भू–माफिया तथा दलालहरुको पक्षपोषण गर्ने खालको रहेको, तराई/मधेशको वनजंगल, सार्वजनिक जग्गा, आफ्ना पार्टीका कार्यकर्ताहरुमा वितरण गर्ने उद्देश्यका साथ ल्याइएको हो । उक्त अध्यादेश अनुसार वास्तविक भूमिहीन, सुकुमवासीहरुले जग्गा प्राप्त गर्न नसक्ने अवस्था रहेको छ र पर्यावरणीय संकट उत्पन्न भई समस्या झन् जटिल हुन सक्ने भएकाले हाम्रो पार्टी भूमि अध्यादेशको विरुद्धमा दृढताका साथ उभिएको छ । संसदबाट भूमि सम्बन्धी अध्यादेश फिर्ता नगरुन्जेलसम्म बाँकी पाँच वटा अध्यादेशहरुलाई पनि सहयोग र समर्थन नगर्ने चट्टानी अडानको कारण अहिलेसम्म सरकारले सदनमा अध्यादेश प्रस्तुत गर्न सकेको छैन । सरकारले जारी गरेको अध्यादेशमा रहेको गलत नीति छ र प्रावधानविरुद्ध हामीले लिएको अडानको कारण आज देश र जनतामा जसपा नेपालप्रतिको विश्वास झनै बढेर गएको छ,’ जारी प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै सो पार्टीले अन्य दलहरुसँग मिलेर सरकार बनाउने भन्दा पनि आफ्नै नेतृत्वको सरकारमा बनाउने गरी काम गर्ने दाबी गरेको छ । त्यसका लागि पार्टीले संसदीय मोर्चा र सडक संघर्षको मोर्चा गरी दुई तरिकाबाट संघर्ष गर्नेमा समेत जोड दिएको छ ।
‘नेपाली कांग्रेस, नेकपा (एमाले) तथा अहिलेको नेकपा (माओवादी केन्द्र) समेत पार्टीहरुको लागि अहिलेका प्राप्त उपलब्धिहरु नै बढी भइसकेकाले उनीहरुको अबको एक मात्र लक्ष्य नै सरकार हो । तर हाम्रो जस्तो समानता, स्वतन्त्रता, संघीयता, सुशासन, समृद्धी, समाजिक न्याय र समाजवादी लोकतन्त्रको लक्ष्य बोकेको पार्टीको लागि संसदीय तथा गैरसंसदीय संघर्ष अहिलेको एक मात्र विकल्प हो । अहिले हामीले दुई वटा मोर्चाबाट संघर्ष गर्नु पर्दछ । एउटा संसदीय मोर्चा र अर्को सडक जनसंघर्षको मोर्चा,’ जारी प्रतिवेदनमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया