काठमाडौं । स्याङ्जाको बिरुवा गाउँपालिका–४ स्थित जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन हुन थालेको छ ।
मगर भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यालयमा नै मगर भाषा पठनपाठन थालिएको हो । हाल कक्षा १–३ सम्मका बालबालिकालाई मगर भाषा अध्यापनको व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कुमालले बताए ।
मगर समुदायको बाहुल्य भएकाले नयाँ पुस्तालाई यो भाषा लेख्न र बोल्न सिकाउने अभियान आफूहरूले थालेको मगर भाषा शिक्षक लेखबहादुर आलेको भनाइ छ । सरकारले प्रकाशन गरेको मातृभाषाको पाठ्यपुस्तकका आधारमा पठनपाठन हुने गरेको छ ।
मगर भाषा अध्यापनका लागि बिरुवा गाउँपालिकाले शिक्षकको व्यवस्था गरेको हो । पालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आदिवासी जनजातिको बाहुल्य भएका गाउँपालिकामा उनीहरूका भाषा तथा संस्कृति संरक्षणमा सघाउने विषय समावेश गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया