सिन्धुपाल्चोक भूकम्प : कोही खाटमै लडेर घाइते भए, कोहीको भित्तामा ठोक्किँदा नाक भाँचियो

लोकपथ
8k
Shares

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ भैरवकुण्ड केन्द्रबिन्दु भएर मध्यराति गएको ६।१ म्याग्नेच्युडको भूकम्पबाट भएको क्षतिको पछिल्लो विवरण प्राप्त भएको छ ।

सशस्त्र प्रहरीको नम्बर ३ बाहिनीका अनुसार, भूकम्पबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ चौतारास्थित जिल्ला कारागारमा रहेका कैदीबन्दी स्याङ्बो तामाङको डबलटेकर खाटबाट भाग्न लाग्दा लडेर हात भाँचिएको छ । भोटेकोशी गाउँपालिका–५ घर भएका ३३ वर्षीय स्याङ्बोको जिल्ला अस्पताल चौतारामा उपचार भइरहेको छ ।

यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय कोदारीको एकतल्ले जस्ताको छानो भएको ब्यारेकको पछाडिको भाग चर्किएको छ । उत्तरपट्टिको झ्यालको माथि पर्खालमा अन्दाजी ७र८ फिट लम्बाई भित्ताको भाग चर्किएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै, भोटेकोशी गाउँपालिका–३ तुसारेस्थित माथि भिरमा सुख्खा पहिरो गएको छ । सो स्थानमा मानवीय बस्ती नभएकाले कुनै पनि क्षति भएको छैन ।

सो स्थानमा इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक संजिता श्रेष्ठको कमाण्डमा ५ जनाको टोली खटिएको छ । सो स्थान सशस्त्र प्रहरी बलको बीओपी तातोपानीबाट अन्दाजी १२र१३ किलोमिटर पश्चिम दक्षिणतर्फ पर्छ ।

यस्तै, मेलम्ची नगरपालिका–११ ११ कटुन्जे बस्ने ४३ वर्षीय रुपेश तामाङ भूकम्प आएको भनेर घरबाट निस्कने क्रममा चिप्लेर लड्दा उनको टाउकोमा चोट लागेको छ । उनको मेलम्ची नगर अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, सिन्धुपाल्चोक लिसंखुपाखर–४ तमखुबारी बस्ने सुमन गौतमको ढुंगामाटोले बनेको जस्ताले छाएको, २ तले कच्ची घर चर्किएको छ । भूकम्पका कारण सो घरमा बस्न नमिल्ने भएकाले सो घरमा बस्दै आएका तीन जनाको परिवार सुमनका बाबु पदमबहादुर खत्रीको घरमा बसेका छन् ।

यस्तै, धादिङको गजुरी गाउँपालिका–१ स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान आकाश रेग्मी भाग्ने क्रममा ब्यारेक कोठाको भित्तामा ठोक्किँदा उनकको नाकको हड्डी चर्किएको छ । साथै उनको एउटा दाँत भाँच्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?