अराजक बन्दै समाज, प्रधानमन्त्रीको जन्मदिनमा संवेदनाहीन गाली

लोकपथ
20.1k
Shares

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल अव्यवस्थित भएको भन्दै सरकारले त्यसको प्रयोगलाई नियमन गर्न खोज्दैछ ।

यसअघि पनि सामाजिक सञ्जाल नियमनको कुरा उठे पनि ठूलो विरोध भएपछि सरकार पछि हटेको थियो । पछिल्ला दिनमा सामाजिक सञ्जाल अरूलाई गाली गर्न प्रयोग हुने माध्यम र अराजक बन्दै गइरहेको छ ।

गत माघ १३ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय संसद् सचिवालयमा सामाजिक सञ्जाल नियमन विधेयक पेस गरे । तर त्यसलाई हुबहु पारित गर्न नहुने भन्दै सडकदेखि सदनसम्म प्रश्न उठेपछि अहिले त्यो अघि बढ्न सकिरहेको छैन । त्यहाँका कतिपय प्रावधानमाथि प्रश्न उठेपछि सरकारले विधेयकलाई अघि बढाउन सकेको छैन ।

‘सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जबाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा कानुन निर्माण गर्न आवश्यक भएकाले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरेको छु,’ सञ्चारमन्त्री गुरुङले उद्देश्य र कारणबारे स्पष्ट पार्दै भनेका थिए ।

सामाजिक सञ्जालको सहज पहुँचका कारण पनि सर्वसाधारणले सिधै प्रधानमन्त्रीदेखि राज्यका उच्च तहमा रहेकाहरूमाथि प्रश्न तेस्र्याइरहेका छन् । तथ्य र तर्कका आधारमा भन्दा पनि आक्रामक र अशोभनीय तर्कहरू सामाजिक सञ्जालमा आक्रोशको रूपमा पोखिन थालेपछि त्यसलाई थप मर्यादित बनाउन सरकार लागि परेको हो । त्यसो त यहीबीचमा पनि सामाजिक सञ्जालको प्लेटफर्म प्रयोग गरेर प्रधानमन्त्रीमाथि विभिन्न आरोप लगाएपछि विद्युतीय कारोबार ऐनअन्तर्गत केही व्यक्ति पक्राउसमेत परे, उनीहरूमाथि कारबाहीसमेत भयो ।

उचित नियमन नहुँदा पछिल्लो समय समाजकै अंग बनेको सामाजिक सञ्जाल थप उच्छृङ्खलतातिर गइरहेका देखिन्छ । सामाजिक सञ्जालमा विभिन्न इन्ट्रेस्ट ग्रुपहरू खडा भई आफूविरुद्धको विचारमाथि आक्रामक हुने प्रवृत्तिसमेत बढिरहेको छ ।
त्यही सामाजिक सञ्जाल हो, जसलाई राम्रोसँग चलाउन जान्नेले आम्दानीको स्रोतसमेत बनाएका छन् । तर त्यसलाई गालीको माध्यम बनाएकाहरू प्रचलित कानुनबमोजिम कारबाहीमा समेत परेका उदाहरण छन् ।

पछिल्लो समय ठूलो युवापंक्ति रोजगारीको लागि देश बाहिर छ । राज्यले उचित काम गर्न सकेको भए आफूहरू विदेशी भूमिमा जान नपर्ने भन्दै सामाजिक सञ्जालमा आक्रामक बनिरहेका छन् । जसकारण पनि राज्यका उपल्लो निकायमा बस्नेहरू स्वदेश तथा विदेशमा बस्नेहरूको बढी निशानामा पर्न थालेका छन्, सामाजिक सञ्जालमा गालीको सिकार बनिरहेका छन् ।
त्यसको ज्वलन्त उदाहरण प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जन्मदिनको अवसरमा आएका आक्रामक र संवेदनाहीन तर्कलाई उदाहरणको रूपमा लिन सकिन्छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आज उमेरले ७४ वर्षमा प्रवेश गरेका छन् । बिहानैबाट ओलीमाथि शुभकामना आइरहेको छ । यसअघिका जन्मदिन विवादमा परेपछि ओली स्वयंले अहिले कुनै तडकभडक नगरी सामान्य तरिकाले शुभकामना आदानप्रदान गरेर जन्मदिन मनाउने जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीको जन्मदिनका अवसरमा विभिन्न व्यक्तिहरुले सामाजिक सञ्जालमा शुभकामना दिइरहेका छन्, तरजन्मदिनमा समेत धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनीमाथि आक्रोश व्यक्त गरिरहेका छन् । कतिपयले आफैँ सामाजिक सञ्जालमा ओलीको तस्बिर राखेर गाली गरिरहेका छन् भने कतिपयले अरूले राखेको पोस्टमा आफ्नो आक्रामक प्रतिक्रिया दिइरहेका छन् । प्रधानमन्त्री ओली स्वयंको पेजमा समेत धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तल्लो तहसम्म पुगेर गाली गरिरहेका छन्, भने कतिपयले ओलीको मृत्युसँग जोडेर समेत मजाक उडाइरहेका छन् ।

त्यसो त सामाजिक सञ्जाल प्लाटफर्मका विभिन्न पेज तथा ग्रुपहरुमा दिइएको पोस्टमा गालीको वर्षा देखिन्छ । पछिल्लो समय युवायुवतीमा चर्चित रहेको ‘रुटिन अफ नेपाल बन्द’ नामक पेजमा प्रधानमन्त्रीलाई शुभकामना राखिएको छ । त्यहाँ अधिकांश प्रयोगकर्ताले प्रधानमन्त्री ओलीमाथि निर्मम प्रतिक्रिया दिएका छन् । अधिकांश प्रयोगकर्ताहरूले प्रधानमन्त्री ओलीको मृत्युलाई लिएर समेत प्रतिक्रिया दिइरहेका देखिन्छन् ।

यी र यस्ता विषयलाई अहिले सरकारले सामाजिक सञ्जाल नियमन विधेयकमा व्यवस्था गरिएको प्रावधानमा मात्र होइन प्रचलित कानुनले समेत कारबाही गर्न सक्छ । यसअघि विभिन्न ट्रोल बनाउनेदेखि भिडियो बनाउनेहरुमाथि समेत कारबाही भएको थियो ।

त्यसो त पछिल्ला दिनहरुमा प्रधानमन्त्री मन्त्री मात्र होइन राजनीतिक दलका शीर्ष नेताहरुमाथि आक्रोश बढ्दो छ । सामाजिक सञ्जाल मात्र होइन सार्वजनिक कार्यक्रमहरुमा समेत आक्रोश पैदा भइरहेको छ । ७ दशकको अवधिमा पटकपटक व्यवस्था फेरिए पनि नागरिकको अवस्था फेरिन नसक्दा नागरिकको आक्रोशको ग्राफ दिनहुँ बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?