परराष्ट्रमन्त्रीले गरिन् ओडिसाका मुख्यमन्त्रीसँग टेलिफोन संवाद

लोकपथ
651
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गरेकी छन् ।

परराष्ट्रमन्त्रीले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको परराष्ट्र मन्त्रीको निजी सचिवालयले जनाएको छ । 

नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरूलाई अस्थायी नभएर स्थायी रूपमा नै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि उनले आग्रह गरेकी हुन् । यस विषयमा कलेजमा समिति बनेको र नयाँदिल्लीस्थित नेपाली राजदूतावासका कूटनीतिक कर्मचारी खटिएकाले समन्वयका लागि मन्त्री देउवाले मुख्यमन्त्री माझीसँग आग्रह गरिन् ।  

मुख्यमन्त्री माझीले घटनालाई ओडिसा राज्यले नै गम्भीर रूपमा लिएको र लम्साललाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम सुरु गरिएको जानकारी दिए । साथै उनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रूपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिए।

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास र ओडिसा सरकार, केआईआईटी प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेरसमन्वयका साथ काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?