क्यान्सर पीडित बालबालिकाको उपचार सहज भएको छ : स्वास्थ्यमन्त्री पौडेल

लोकपथ
84
Shares

काठमाडौं । क्यान्सर पीडित बालबालिकाहरूले सर्वसुलभ रूपमा निःशुल्क औषधि पाउने भएका छन् । बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले  क्यान्सर पीडित बालबालिकाहरूले सर्वसुलभ रूपमा निःशुल्क औषधि पाउने बताएका हुन् ।

उनले क्यान्सर पीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायत संस्थाहरूले औषधि उपलब्ध गराएपछि थप सहज भएको बताए । 

उनले औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवस्थित गरिने उनको भनाइ छ । काठमाडौंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको वीपी कोइराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधि वितरण हुने उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव हरिप्रसाद मैनालीले औषधि आवश्यकताका आधारमा सर्वसुलभ रूपमा वितरण गर्ने व्यवस्था मिलाउने बताए । उनले भनसुनको भरमा औषधि वितरण गर्ने नभई सिस्टमको आधारमा सेवा प्रवाह हुने बताए । उनले सहयोगी संस्थाले पाँच वर्षका लागि निःशुल्क औषधिको व्यवस्था गर्ने भएकाले दिगोपनका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन (जिपिएसिसिएम) ले आगामी पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने भएको छ । संस्थाले बालबालिकाको क्यान्सर उपचारका लागि गुणस्तरीय औषधिहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने र गुणस्तरीय औषधिको छनोटदेखि वितरणसम्मको प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि प्राप्त गरेको थियो । बालबालिकालाई प्रयोग हुने क्यान्सरको औषधि दुई हजार तीन सयभन्दा बढी प्याक नेपाल आइपुगेको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी औषधि खरिद गरेको हो । नेपाललाई उक्त औषधि निःशुल्क उपलब्ध गराइएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?