काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनाबद्ध विकास हुन नसकेको बताएका छन् ।
बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १०औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री दाहालले यस्तो बताएका हुन् । उनले विकास निर्माणका कामहरू अगाडि बढाउनका लागि प्राथमिकता निर्धारण गर्न जरुरी रहेको बताए ।
उनले विकास निर्माणका आयोजनाहरूको सन्दर्भमा जनघनत्व र उपभोक्ताको आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए । उनले मुलुकलाई समृद्ध बनाउनका लागि स्थानीयको उत्पादन शहरसम्म पुर्याउनका लागि आवश्यक सडक र बाटो निर्माण सरकारको प्राथमिकतामा रहेको समेत बताए ।
उनले नेपाल ठूलो अर्थतन्त्र भएका दुई देशको बीचमा रहेको उल्लेख गर्दै ती देशका सीमा नाकामा सहज आवतजावतको वातावरण समेत बनाउनुपर्ने बताए । उनले भारतसँगको नाकामा नेपाली नागरिकको सहज पहुँच भएको उल्लेख गर्दै चीनसँगका नाकाबाट सहज रूपमा वस्तुको आयात र निर्यात गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले वस्तुको लागि एकदेशसँग मात्र निर्भर हुने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको समेत दाबी गरे ।
बिहीवारबाट सुरु भएको प्रदर्शनी फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरूका १५० बढी स्टल रहेका छन् । प्रदर्शनीमा निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरू र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी लिन पाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया